काठमाडौं- नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेतप्रसाद उप्रेती नियुक्त भएका छन् । एक औपचारिक कार्यक्रमकाबीच डेपुटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
चेतप्रसाद उप्रेतीको केन्द्रीय बैंकको विभिन्न विभागमा २७ वर्ष भन्दा बढी काम गरेको अनुभव रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट एमबिए डिग्री गरेका उप्रेती हाल राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकका रूपमा आबद्ध छन् ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरू स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।
प्रतिक्रिया