छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई कोइरालाको सुझाव

शनिबार, १० जेठ २०८२, १३ : ०५

काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरे ।

उनले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए । नेता कोइरालाले संवैधानिक निकायहरू सचिवहरूको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरूको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे ।

उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरूले जनमत संग्रबाट डराउन नहुने जिकिर गरे । उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए ।

त्यस्तै नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरूलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गरे । 

शनिबार, १० जेठ २०८२, १३ : ०५

प्रतिक्रिया