युरोपमा टेस्लालाई पछि पार्दै बीवाईडीको नयाँ कीर्तिमान, अप्रिलमा मात्र ७ हजारभन्दा बढी ईभी बिक्री

शनिबार, १० जेठ २०८२, १५ : २२

काठमाडौं- युरोपमा पहिलो पटक टेस्ला भन्दा बढी कार बिक्री गरेर चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले नयाँ रेकर्ड कायम गरेको छ ।

अटोमोटिभ इन्टेलिजेन्स फर्म जाटो डाइनामिक्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत अप्रिल महिनामा बीवाईडीले ७ हजार २३१ ब्याट्रीबाट संचालित हुने इलेक्ट्रिक भेइकल (बीईभी) बिक्री गरेको छ भने टेस्लाले ७ हजार १६५ युनिट मात्र यस्ता गाडी बिक्री गर्न सफल भएको छ ।

बीवाईडीले लगातार रुपमा अन्तर्राष्ट्रिय बजार समेत बढाइरहेको समयमा गत वर्ष भन्दा यो वर्षको अप्रिल महिनामा युरोपमा ३५९ प्रतिशत बढी बजार बनाउन सफल भएको छ । अर्कोतिर टेस्लाले भने लगातार रुपमा मासिक भोलुम घटाइरहेको छ र सो भोलुम अप्रिलमा ४९ प्रतिशत पुगेको छ । जाटोले युरोपका २८ देशमा गरेको सर्वेक्षणबाट यो तथ्यांक सार्वजनिक गरेको हो ।

गत अक्टोबरमा युरोपेली युनियनले चीनमा निर्मित गाडीमा बढी कर लगाउने घोषणा गरे पश्चात टेस्लाका गाडीमा भने कम मात्र कर लाग्ने व्यवस्था छ । यस अनुसार टेस्लामा ७.८ प्रतिशत मात्र कर लाग्ने गरेको छ भने बीवाईडीमा १७ प्रतिशत सम्म लाग्ने गरेको छ । यो अवस्थामा समेत बीवाईडीले टेस्लालाई पछि पारेको अवस्था छ ।

टेस्लाको पुरानै मोडल र यसका मालिक इलन मस्कको ट्रम्पसँगको निकटताका कारण युरोपमा व्यापार खस्किँदा बीवाईडीलाई सफलता प्राप्त भएको विश्लेषण गरिएको छ ।
 

शनिबार, १० जेठ २०८२, १५ : २२

प्रतिक्रिया