रासायनिक मल कारखानाका लागि उपयुक्त विकल्प सिफारिस गर्न कार्यदल गठन

बुधबार, १४ जेठ २०८२, १५ : १९

काठमाडौं- लगानी बोर्डको ६३ औं बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ ।

“आजको बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन जानकारीमा लिँदै उक्त प्रतिवेदनको समीक्षा तथा पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेको छ”, जारी विज्ञप्तिमा भनिएको छ ।

बैठकले पाँचखाल विशेष आर्थिक क्षेत्र परियोजनालाई ‘स्वीस च्यालेन्ज’ अवधारणाअनुसार प्रतिस्पर्धामा लैजाने निर्णय गरेको छ। यस परियोजनामा प्राप्त प्रस्ताव अब खुला प्रतिस्पर्धामार्फत अन्य इच्छुक लगानीकर्तामाझ प्रतिस्पर्धा गराइनेछ।

त्यस्तै, विभिन्न मुलुकहरूसँग भएको दोहोरो कर उन्मुक्ति तथा लगानी प्रवर्द्धन सम्झौताका सन्दर्भमा थप मुलुकहरूसँग सम्भाव्यता अध्ययन गरी सिफारिस गर्न अर्को कार्यदल गठन गरिएको छ।

बैठकमा समुन्द्रको गहिरो सतह (डिप सिबेड) मा खनिज उत्खननसम्बन्धी प्रस्तावको कानुनी, आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ। नेपालमा सम्भावित नयाँ उर्जा विकल्पको रूपमा देखिएको ग्रीन हाइड्रोजन परियोजनाका लागि सर्वेक्षण अनुमति दिन बोर्डको कार्यालयलाई अधिकार दिने निर्णय पनि बैठकबाट भएको छ।

बोर्डको काम छिटोछरितो र प्रभावकारी बनाउने उद्देश्यले केही अधिकार प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गर्ने निर्णय गरिएको छ। साथै, निर्माणाधीन अरुण–३ जलविद्युत् परियोजनाको प्रगति मूल्यांकनका लागि ‘प्रोजेक्ट रिभ्यु प्यानल’ गठन गर्न नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरिएको छ।

बुधबार, १४ जेठ २०८२, १५ : १९

प्रतिक्रिया