काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कनेक्ट किसान’ एपको एआइ सल्लाह प्रणाली परीक्षण गर्दै सोधिएको कृषि सम्बन्धी प्रश्नमा प्रविधिले सहज र वैज्ञानिक जवाफ दिएको छ।
बागबजारस्थित ‘आइडिया स्टुडियो’मा आयोजित ‘नवप्रवर्तक युवाहरूसँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले सो प्रणालीलाई सोधेका थिए, “कफि सुकाउने तरिकाबारे बताउन सक्नुहुन्छ ?” उक्त प्रश्नमा प्रणालीले व्यावहारिक र वैज्ञानिक उत्तर दिँदै भन्यो, “कफिका फलहरू सफा गरेर चिसो र हावा चल्ने ठाउँमा पातलो तहमा राख्नुपर्छ। ती फलहरू नियमित रूपमा पल्टाउँदै राम्ररी सुकाउनुपर्छ। यसरी गर्दा कफि राम्ररी सुक्ने र गुणस्तर राम्रो हुने गर्छ।”
‘कनेक्ट किसान’ले विकास गरेको यो एआइ प्रणालीले कृषकहरूलाई आवाज तथा पाठ दुवै माध्यमबाट कृषि सम्बन्धी सुझाव दिने सुविधा दिन्छ। प्रणालीमार्फत कृषकहरूले ह्वाट्सएपमा सन्देश पठाउँदा एआइले नेपाली भाषामा प्रतिउत्तर दिन सक्छ।
कनेक्ट किसानका निर्देशक राजन दाहालका अनुसार ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच सीमित भएकालाई कृषि प्रविधिमा समेट्ने लक्ष्यसहित यो प्रणाली ल्याइएको हो। यो एआइ ‘दियो एआई’को सहयोगमा तयार गरिएको हो, जुन नेपाली भाषामा तालिम प्राप्त गरेर स्थानीय सन्दर्भअनुसार जवाफ दिन सक्षम छ।
यस प्रणालीमार्फत बाली संरक्षण, मल प्रयोग, सिँचाइ, रोग नियन्त्रणदेखि बजार मूल्यको जानकारीसम्म सहज रूपमा प्राप्त गर्न सकिनेछ। आवाज वा पाठमार्फत जानकारी आदानप्रदान गर्न मिल्ने भएकाले प्रविधि सरल र प्रभावकारी भएको दाहालको भनाइ छ।
हालसम्म ‘कनेक्ट किसान’ एप ५ हजारभन्दा बढीले डाउनलोड गरिसकेको जानकारी दिइएको छ।
प्रतिक्रिया