नेपाल र कम्बोडियाबीच व्यापारिक सहकार्य सुदृढ गर्नका लागि समझदारी

विहीबार, २९ जेठ २०८२, १६ : ५६

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र  कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्नका लागि समझदारी भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले यही जुन १० मा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित एक कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।  

समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी गर्ने, तालिम, अनुसन्धान र क्षमता अभिवृद्धिका लागि संयुक्त कार्यक्रमहरूसहित र लगानी प्रवर्द्धनलाई जोड दिइने उल्लेख गरिएको छ।

समझदारीपत्रमा बिटुबी सहकार्यलाई प्राथमिकता दिनुका साथै दुवै संस्थाले व्यापारिक साझेदार पहिचान, व्यावसायिक मञ्चबीच सहकार्य र लगानीका अवसरबारे आ–आफ्ना सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका महासंघका अध्यक्ष ढकालले बताए।

सम्झौताअनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संशाधन, व्यावसायिक सुरक्षा, सीप विकास र लगानी प्रवर्द्धनका क्षेत्रमा सहयोग आदानप्रदान गरिने उनले जानकारी दिए।

क्याम्फेबाका उपाध्यक्ष लोरले महासङ्घ र क्याम्फेबाबीचमा भएको यो समझदारीले नयाँ अवसर सिर्जना गर्नुका साथै बलियो सञ्जाल र क्षेत्रीय सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।

हस्ताक्षर समारोहमा महासङ्घंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ, कार्यकारिणी सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिति थियो। 

विहीबार, २९ जेठ २०८२, १६ : ५६

प्रतिक्रिया