काठमाडौं- वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले गत वर्ष (सन् २०२४) मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा ७.७० प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले १० अर्ब ३३ करोड २० लाख र सन् २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपालले जनाएको छ ।
कम्पनीले ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ कर्जाका लगि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये लङ ट्रम २ अर्ब १९ करोड ६० लाख रुपैयाँका लागि ‘केयरएनपी ए’ र सर्ट ट्रम १ अर्ब ७५ करोड कर्जाका लागि ‘केयर एनपी ए२ प्लस’ रेटिङ पुनः पुष्टि गरेको छ ।
वर्ल्डलिंकले पछिल्लो वर्षहरुमा ग्राहक संख्या र कारोबारमा उल्लेखनीय वृद्धि गर्दै आएको छ । हाल देशभर १० लाखभन्दा बढी सक्रिय ग्राहक रहेको यस कम्पनीको इन्टरनेट सेवा क्षेत्रमा ३२ प्रतिशत बजार हिस्सा रहेको छ ।
प्रतिस्पर्धा बढ्दा ग्राहकबाट हुने औसत आम्दानी भने घटेको छ । गत वर्ष प्रतिग्राहक आम्दानी ९८७ रुपैयाँ रहेकोमा हाल घटेर ८६१ रुपैयाँ कायम भएको छ । कम्पनीले आइएसपी सेवाबाट ५० प्रतिशत प्राविधिक सेवाबाट आम्दानी गरेको छ ।
वर्ल्डलिंकले हाल देशभरका ७० भन्दा जिल्लामा सेवा पुर्याएको छ ।
प्रतिक्रिया