विराटनगर महानगरले ल्यायो ४ अर्ब ४० लाखको बजेट, पूर्वाधार र सामाजिक विकास प्राथमिकतामा

मंगलबार, १० असार २०८२, १३ : ३२

विराटनगर– विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार नगर सभाको १६औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिएको जानकारी दिइन् । 

महानगरको बजेट विभिन्न स्रोतबाट संकलन गरिनेछ । वित्तीय समानीकरण अनुदान अन्तर्गत संघ र प्रदेश सरकारबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १९ करोड २० लाख, आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड, नगद मौज्दातबाट १४ करोड, संघीय सरकारबाट सशर्त र समपूरक अनुदानमा ८३ करोड ३४ लाख, प्रदेश सरकारको सशर्त अनुदानमा ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र अन्य संघसंस्थाबाट १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

बजेट अनुसार महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ६४ करोड ७५ लाख, ऋण भुक्तानीमा ५ करोड, चालु आवका बाँकी योजनाका लागि ८ करोड छुट्याएको छ । पूर्वाधार विकासतर्फ १ अर्ब ६८ करोड ८३ लाख १३ हजार रुपैयाँ विनियोजन गरिएको छ । यस अन्तर्गत गौरवका आयोजना, बहुवर्षीय योजनाहरू, सडक मर्मत, फोहोरपानी प्रशोधन केन्द्र, विद्युतीकरण, बस्ती विकास लगायतका कार्यक्रम समावेश छन् । वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख ३२ हजार विनियोजन गरिएको छ । 

सामाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, युवा, अल्पसंख्यक, अपाङ्गता, सरसफाई, सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरूका लागि कुल १ अर्ब ८९ लाख ३० हजार रुपैयाँ छुट्याइएको छ । आर्थिक विकास क्षेत्रतर्फ कृषि, पशुपंक्षी, सहकारी र उद्यमशीलता विकासका कार्यक्रमहरूमा ६ करोड ८४ लाख रुपैयाँ विनियोजन गरिएको छ । विपद् व्यवस्थापन र वातावरण संरक्षणका लागि १ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ ।

सुशासन तथा संस्थागत विकास अन्तर्गत नगर प्रहरी, ट्राफिक व्यवस्थापन, सूचना प्रविधि, सञ्चार र सेवा प्रवाह सुधारका कार्यक्रमहरूका लागि ३ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ । उपप्रमुख कार्कीले बजेट प्रस्तुत गर्दै भनिन्, ‘यो बजेट राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको छलफल र सहमतिमा निर्माण गरिएको हो । यसले समृद्ध महानगर बनाउने दिशामा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिएका छौँ ।’
 

 
मंगलबार, १० असार २०८२, १३ : ३२

प्रतिक्रिया