काठमाडौं- नेपाल भ्रमणमा आएको मलेसिया नेपाल बिजनेस काउन्सिलले व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स एनसीसीसंग छलफल गरेको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलबीच दुई मुलुकबीचको आर्थिक सम्बन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तार लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।
मलेसिया नेपाल बिजनेस काउन्सिलका अध्यक्ष प्रदीप कुमार कुकरेजा सहितको टोलीले नेपाल भ्रमणका क्रममा चेम्बर पदाधिकारीसमक्ष दुई पक्षीय लगानी तथा व्यापार साझेदारीबारे प्रस्ताव राखेका थिए ।
चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र मलेशियाबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष भन्दा पुरानो रहेको स्मरण गर्दै व्यापार, लगानी अभिवृद्धि तथा रोजगारीको दृष्टिकोणले समेत उत्कृष्ट रहेको बताए । नेपालबाट मलेसियामा ५ लाख भन्दा बढी युवाहरूले रोजगारी पाइरहेको र दुई मलुकबीच सबैभन्दा धेरै हवाई सम्पर्क विस्तार भइरहेको अध्यक्ष अग्रवालले बताए । नेपाली युवा जनशक्तिले दुवै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको अध्यक्ष अग्रवालले बताए । यद्यपि मलेसियासँग नेपालको व्यापार घाटा उच्च रहेकाले यसलाई घटाउनका लागि व्यापार सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, उत्पादनमूलक उद्योग, कृषि, पर्यटन, खानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न मलेसियाका उद्यमी व्यवसायीलाई आग्रह गरे । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको भन्दै अध्यक्ष अग्रवालले व्यापार घाटा न्यूनीकरणका लागि नेपाली वस्तुहरूको आयात वृद्धि गर्न आग्रह गरे ।
चेम्बर पदाधिकारीहरुसंगको भेटमा मलेसिया नेपाल बिजनेस काउन्सिलका अध्यक्ष प्रदीप कुमार कुकरेजाले नेपालको पर्यटकीय क्षेत्रले आफूलाई आकर्षित गरेको बताए । उनले नेपालमा लगानीको सम्भावना देखेर नै आफूहरू आएको र व्यावसायिक वातावरण बनाउनका लागि चेम्बरसँग सहकार्य गर्न लागेको बताए ।
प्रतिक्रिया