काठमाडौ- दाङको तुलसीपुर उपमहानगरपालिकाले पालिकाका कृषि तथा पशुपालन गरिरहेका कृषकहरुलाई कृषि उपकरण वितरण गरेको छ ।
यान्त्रिक साधन वितरण कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सरकार कृषकहरुलाई सहजता तथा उत्पादनमा बृद्धि गर्ने अभियानमा लागेको बताएका छन् । परम्परागत खेती प्रणालीमा लगानी र समय बढी लाग्ने तर त्यसअनुसार उत्पादन नभएको अवस्था छ । त्यसकारण कृषकहरुले कम लागतमा बढी उत्पादन लिन सकून् भन्ने उद्देश्यले सरकारले आधा लगानीमा यी यान्त्रिक साधनहरु उपलब्ध गराएको हो’– उनले भने– ‘जोत्नका लागि मिनी टिलर, घाँस र भुसा काट्नका लागि चाप कटर र घरमै दाना तयार गर्नका लागि कम्बाइन साइस मिल वितरण गरिएको छ । यसको सही सदुपयोग गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं ।’
वितरित सामग्रीहरु पालिकाको कृषि र पशु विकास शाखामार्फत् वितरण गरिएको हो । कृषि शाखामार्फत् ८० वटा मिनी टिलर र पशु सेवा शाखामार्फत् सातवटा चापकटर तथा तीनवटा कम्बाइन साइस मिल वितरण गरिएको कृषि विकास समितिका संयोजक लक्ष्मण चौधरीले जानकारी दिए । कृषकले चापकटरमा ५० प्रतिशत अनुदानमा १८ हजार सात सय ५० रुपैयाँमा प्राप्त गरेका छन् भने कम्बाइन साइस मिल (दाना बनाउने मेसिन) मा कृषकको २२ हजार र सरकारको २० हजार रुपैयाँ लगानीमा वितरण गरिएको छ । पशु सेवा शाखाको कार्यविधिमा २० हजार रुपैयाँसम्म मात्रै अनुदान उपलब्ध गराउन पाइने नीतिका कारण ५० प्रतिशत अनुदान दिन नसकिएको पशु सेवा शाखा प्रमुख डा। मनोज ओलीले बताउनुभयो । त्यस्तै मिनी टिलर कृषकले २४ हजार नौ सयमा प्राप्त गरेका छन् ।
कृषि विकास समितिका संयोजक लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, विभिन्न वडाका अध्यक्षहरुलगायतले बोलेका थिए । पालिकाले अनुदानमा दिएका यान्त्रिक साधनबाट ९० जना कृषक लाभान्वित भएका छन् । पालिकाले वितरण गरेका यी सामग्रीहरु सदुपयोग भएका छन् वा दुरुपयोग भएका छन् भनेर केही समयमा अनुगमन पनि गरिने संयोजक चौधरीले बताइन ।
प्रतिक्रिया