काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ ।
बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अध्यावधिक गर्न बैंकले अनुरोध गरेको हो ।
यसका लागि बैंकको वेवसाइट वा मोबाइल बैंकिङ एपमा रहेको “प्यान अपडेट” मार्फत अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । यसका साथै ग्राहकहरूले बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकको भनाई छ ।
बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक हुन्छ । यसबाट ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमामा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंक जानकारी दिएको छ ।
साथै, यसअघि प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमा सम्पर्क गरी सेवा लिनका लागि बैंकले अनुरोध गरेको छ ।
प्रतिक्रिया