काठमाडौं— टाटा मोटर्सको बहुप्रतीक्षित इलेक्ट्रिक कार अल्ट्रोज ईभी छिट्टै बजारमा आउने भएको छ। कम्पनीले लामो समयदेखि विकास गर्दै आएको यो मोडल अब अन्तिम चरणमा पुगेको र चाँडै सार्वजनिक गर्ने तयारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
टाटाले सन् २०१९ को जेनेभा मोटर शोमा अल्ट्रोज ईभीको कन्सेप्ट मोडल प्रस्तुत गरेको थियो। त्यसपछि सन् २०२० मा यसको प्रारम्भिक संस्करण देखाइए पनि व्यावसायिक उत्पादन ढिलो हुँदै आएको थियो।
हाल टाटा मोटर्सले यो गाडीलाई ‘एक्कर्ट’ कोडनेम दिएर विकास गरिरहेको छ। नेक्सन ईभी पछि कम्पनीको अर्को मुख्य इलेक्ट्रीक मोडलका रूपमा अल्ट्रोज ईभी बजारमा आउँदैछ।
कम्पनीले अल्ट्रोज ईभी मा हालै बजारमा ल्याएको पञ्च ईभीकै मोटर र ब्याट्री प्याक प्रयोग गर्ने भएको छ। उक्त मोडलजस्तै एक्ट ईभी आर्किटेक्चरमा निर्माण हुने भएकाले गाडीको ग्राउण्ड क्लियरेन्स उत्कृष्ट हुने बताइएको छ।
अल्ट्रोज ईभीमा २५ किलोवाटअवर र ३५ किलोवाटअवर क्षमताका ब्याट्री प्याक राखिने छन्। साथै, दुईवटा मोटर अप्सन पनि उपलब्ध हुने जनाइएको छ, जुन पञ्च ईभीमा समेत प्रयोग गरिएको थियो।
टाटा मोटर्स स्रोतका अनुसार कम्पनीले यसै वर्षभित्र ह्यारियर ईभी र सिरिया ईभी पछि अल्ट्रोज ईभी बजारमा ल्याउने तयारी गरेको हो।
प्रतिक्रिया