काठमाडौ- एशियाकै ठूलो उपत्यका मानिने दाङ अन्न उत्पादनमा अग्र स्थानमा रहेको छ । यहाँ पछिल्लो समय तोरी उत्पादनमा पनि उल्लेखनीय वृद्धि भएको छ । विगत तीन वर्षको तथ्याङ्कको अवस्थाले तोरी उत्पादन वृद्धि भएको देखाएको हो । जिल्लामा तोरी खेती गर्ने किसानको संख्या, उन्नत जातको तोरीको बिउ र क्षेत्रफल समेत बढ्दा उत्पादन पनि बढेको हो ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई दाङका सूर्य ज्योति केसीका अनुसार क्षेत्रफलसँगै उत्पादन वृद्धि भएको हो । गत वर्ष २०७९/०८० मा तोरी जोन अन्र्तगतको क्षेत्रमा एक हजार दुई सय हेक्टरमा तोरी खेती गरिएको थियो । जसमा एक हजार नौ सय ३२ मेट्रिक टन तोरी उत्पादन भएको थियो । जसको उत्पादकत्व एक दशमलव ६१ प्रति हेक्टर रहेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा एक हजार दुई सय हेक्टरमा तोरी खेती गरिएकोमा दुई हजार चार मेट्रिक टन तोरी उत्पादन भएको थियो । जसको उत्पादकत्व प्रति हेक्टर एक दशमलव ६७ रहेको थियो ।
दाङ धान,मकै र गहुँ खेतीको लागि पनि उर्वर भूमि हो । साथै तोी जस्ता तेलहन बालीको लािग पनि यो जिल्ला महत्वपूर्ण मानिन्छ । आर्थिक वर्ष २०८१/०८२ मा एक हजार दुई सय ४२ हेक्टरमा तोरी खेती गरिएको थियो । जसमा दुई हजार एक सय २३ दशमलव ८२ मेट्रिक टन उत्पादन भएको हो । जसको उत्पादकत्व प्रति हेक्टर एक दशमलव ७१ रहेको छ । यता कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा १६ हजार ४१० हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको थियो । त्यसबाट १८ हजार ५४३ दशमलव तीन मेट्रिक टन तोरी उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । उत्पादकत्व १ दशमलव १३ रहेको थियो । आर्थिक वर्ष २०८१/०८२ मा १६ हजार ६१५ हेक्टरमा तोरी खेती भएको थियो । यस वर्ष ३१ हजार ५६८ दशमलव ५ मेट्रिक टन तोरी उत्पादन भएको थियो । गत वर्षभन्दा यस वर्ष दुई सय ५ हेक्टर क्षेत्रफल वृद्धि भएको छ भने यस वर्ष तोरीको उत्पादन १३ हजार २५ दशमलव २ मेट्रिकटन तोरी उत्पादन वृद्धि हो । गत वर्षभन्दा यस वर्ष तोरीको उत्पादन वृद्धि ६८.१४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया