काठमाडौं - धान उत्पादनको ‘हब’ मानिएको दाङमा सिंचाई पुगेका अधिकांश स्थानमा रोपाईं सकिएको छ । देउखुरी क्षेत्रको अधिकांश र अन्य ठाउँको समेत गरी जिल्लाभरमा ८० प्रतिशत रोपाईं सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
कृषि विकास कार्यालयका अनुसार,दाङमा रहेको ७४ हजार तीन सय ३६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये धान खेती हुने क्षेत्रफल ३७ हजार दुई सय २५ हेक्टर हो । हालसम्म २९ हजार सात सय ८० हेक्टरमा रोपाइ सकिएको सरकारी रेकर्ड छ । कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा आठ हजार ९७ हेक्टरमा धान रोपाईं हुन्छ । त्यहाँ छ हजार चार सय ७८ अर्थात ८० प्रतिशत रोपाईं सकिएको छ । त्यसैगरी छ हजार सात सय ९५ हेक्टर धान खेती हुने तुलसीपुर उपमहानगरपालिकामा पाँच हजार ९६ अर्थात ७५ प्रतिशत रोपाईं सकिएको छ । दुई हजार एक सय ५० हेक्टर धान खेती हुने बबई गाउँपालिकामा एक हजार पाँच सय पाँच हेक्टर अर्थात ७० प्रतिशत, एक हजार एक सय ४३ हेक्टर क्षेत्रफलमा धान खेती हुने बंगलाचुली गाउँपालिकामा नौ सय ९४ अर्थात ८० प्रतिशत, तीन हजार चार सय १२ हेक्टरमा धान खेती हुने दंगीशरण गाउँपालिकामा दुई हजार नौ सय हेक्टर अर्थात ८५ प्रतिशत, तीन हजार दुई सय ८० हेक्टर धान खेती हुने गढवा गाउँपालिकामा तीन हजार दुई सय १४ अर्थात ९८ प्रतिशत, तीन हजार दुई सय ५० हेक्टर धान खेती हुने लमही नगरपालिकामा पनि ९८ प्रतिशत रोपार्इं सम्पन्न भएको छ ।
यसैगरी, लमहीमा तीन हजार एक सय ८५ हेक्टर क्षेत्रफलमा रोपाईं सकिएको ज्ञान केन्द्रले जनाएको छ । त्यस्तै तीन हजार एक सय तीन हेक्टर क्षेत्रफलमा रोपाईं हुने राजपुर गाउँपालिकामा ९० प्रतिशत अर्थात दुई हजार सात सय ९३ हेक्टर क्षेत्रफलमा रोपाईं सकिएको छ । सबैभन्दा धेरै रोपार्इं भएको राप्ती गाउँपालिकामा तीन हजार दुई सय १३ हेक्टरमा रोपाईं भएको छ । तीन हजार दुई सय ४५ हेक्टर क्षेत्रफलमा रोपाईं हुने राप्ती गाउँपालिकामा ९९ प्रतिशत रोपाईं सकिएको छ । शान्तिनगर गाउँपालिकामा ८२ प्रतिशत रोपाईं सकिएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा रोपार्इं हुने जग्गा रहेकोमा शान्तिनगर गाउँपालिकामा दुई हजार दुई सय ५५ हेक्टर क्षेत्रफलमा रोपाईं सकिएको छ ।
प्रतिक्रिया