काठमाडौं- विश्वभर लोकप्रिय बनेका चिनियाँ अटो ब्रान्ड जिली अब औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छ। ईभी क्षेत्रमा तीव्र गति लिँदै गएको जिली ब्रान्डका गाडीहरू एलआरआर मोटर्स मार्फत नेपालमा ल्याउन लागिएको हो।
नेपालका लागि जिलीको आधिकारिक वितरक एलआरआर मोटर्सले आगामी छिट्टै नै जिली गाडीहरू सार्वजनिक गर्ने तयारी गरिरहेको कम्पनीका व्यवासाय प्रमुख अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार कम्पनीले काठमाडौंको गैह्रीधारामा अत्याधुनिक नयाँ शोरुम पनि निर्माण गरिरहेको छ।
जिलीले सन् २०१० मा भल्वो को १०० प्रतिशत सेयर फोर्डबाट खरिद गरेपछि अन्तर्राष्ट्रिय बजारमा आफ्नो पाइलो मजबुत बनायो। त्यसपछि सन् २०१७ मा लोटस को ५१ प्रतिशत र सन् २०१८ मा डेमलर एजी (मर्सिडिज बेन्ज) को ९.६९ प्रतिशत सेयर किन्दै जिलीले विश्वकै प्रमुख ब्रान्डहरूसँग सहकार्य गरेको छ।
सन् २०२४ मा जिलीले २२ लाख सवारी साधन बिक्री गरेर रेकर्ड कायम गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि हो।
जिलीको ग्यालेक्सी ई५ प्रो र ई५ म्याक्स गरी दुई मोडेल नेपाल भित्रिसकेका छन्।
बजारमा चिनियाँ ईभीहरूको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै कम्पनीले जिली ब्रान्डलाई नयाँ विकल्पको रूपमा प्रस्तुत गर्न लागेको हो।
प्रतिक्रिया