हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

आइतबार, ०४ साउन २०८२, ११ : ००

काठमाडौं- हिमालयन बैंकले गत असार ३२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको फर्दर पब्लिक इस्यू (एफपीओ) मा आवेदन दिने आज आइतबार अन्तिम दिन रहेको छ । 

कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने भएकोले बैंकले एफपीओ जारी गरेको हो। 

एफपीओ निष्कासनपछि बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ पुग्नेछ। हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। 
जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत सर्वसाधारणको रहेको छ। 

सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत बनाउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्कासन गरेको हो।

एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ। 

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
 

 
आइतबार, ०४ साउन २०८२, ११ : ००

प्रतिक्रिया