फक्सवागेनको ‘भर्टुस’ कार नेपाल आउँदै, नाइमा एक्स्पोमा सार्वजनिक गरिने

आइतबार, ०४ साउन २०८२, १६ : ४३

काठमाडौं— जर्मन अटो ब्राण्ड फक्सवागेनले कम्प्याक्ट सेडान सेग्मेन्टमा भारतमा उत्पादन गरेको ‘भर्टुस’ मोडल नेपालमा ल्याउने भएको छ। कम्पनीले साउन २१ गतेदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो २०२५ मा सो मोडल सार्वजनिक गर्ने तयारी गरेको हो।

भर्टुसमा १।० लिटरको टीएसआई टर्बो चार्ज्ड थ्री सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ, जुन यसअघि फक्सवागेनको टाइगुन मा प्रयोग गरिएको थियो।

गाडीको अगाडिको डिजाइन कम्पनीको नयाँ लेटेस्ट डिजाइन ल्याङ्ग्वेजमा आधारित छ। स्लीक र्यापअराउण्ड हेडलाइट, क्रोम एसेन्टसहितको ग्रिल र बम्पर यसमा आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

भर्टुसको लम्बाइ ४,५४१ मिमि, चौडाइ १,७५२ मिमि र उचाइ १,४८७ मिमि छ। ह्वीलवेस २,६५१ मिमि र बुट स्पेस ५२१ लिटरको छ।

गाडीको भित्री भागमा १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, ८ इन्चको डिजिटल क्लस्टर, सनरुफ, वायरलेस चार्जर र ८ स्पिकर अडियो सिस्टम दिइएको छ।

सुरक्षाका हिसाबले ६ एयरब्याग, अटो हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिलहोल्ड कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ईडीएस, एम्बियन्ट लाइट र कुल्ड ग्लोभबक्स उपलब्ध छ।

नेपालमा फक्सवागेनको आधिकारिक वितरक पुजा इन्टरनेशनलले सो गाडीको बिक्री गर्नेछ। 
 

 
आइतबार, ०४ साउन २०८२, १६ : ४३

प्रतिक्रिया