सांग्रिला डेभलपमेन्ट बैंकको वितरणयोग्य मुनाफामा वृद्धि

विहीबार, ०८ साउन २०८२, १३ : १५

काठमाडौं- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ मा ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो।

बैंकको वितरणयोग्य मुनाफा आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा २१३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।

वितरणयोग्य मुनाफा उच्च बढेपनि बैंकको खुद नाफा भने सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ६.५१ प्रतिशत बढेर ५३ करोड ७० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३.३९ प्रतिशत र सञ्चालन मुनाफा १०.०६ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा बैंकको बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८० पैसा बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी भने समीक्षा अवधिमा ४० पैसा बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ।

३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ।

 
विहीबार, ०८ साउन २०८२, १३ : १५

प्रतिक्रिया