काठमाडौं- नेपालमा एसआरएम र जोयलङ ईभी भ्यानको आधिकारिक वितरक भीजी मोटर्सले ईभीको दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ प्रशिक्षकहरुको प्रशिक्षण सम्पन्न गरेको छ ।
पहिलो चरणमा कम्पनीले साउन १० गते शनिबार काभ्रेको बनेपामा रहेको संयुक्त ड्राइभिङ ट्रायल सेन्टरमा ड्राइभिङ सेन्टरका प्रशिक्षकहरूलाई तालिम दिएको हो । उक्त कार्यक्रममा सातै प्रदेशबाट ४५ जना अनुभवी चालक प्रशिक्षकहरू सहभागी रहेको कम्पनीले जनाएको छ ।
तालिम भीजी मोटर्सको सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको हो । यसको मुख्य उद्देश्य विद्यालय तथा सार्वजनिक सवारी चालकहरुलाई दीर्घकालीन रूपमा सुरक्षित, सचेत र जिम्मेवार तरिकाले विद्युतीय गाडी चलाउने बनाउनु रहेको बताइएको छ ।
तालिमका सहभागीलाई ईभीको प्रविधि र यसलाई चलाउने शैलीबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइएको भीजी मोटर्सले जनाएको छ । उनीहरुलाई ईभीको सुरक्षित सञ्चालन, शैक्षिक संस्थाका र सार्वजनिक सवारी साधनको सुरक्षामा आवश्यक सावधानी तथा व्यावहारिक सीपसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
बनेपामा आयोजित तालिम देश विदेशमा अध्ययन र अनुभव प्राप्त प्रशिक्षकद्वारा दिइएको थियो । तालिमका सम्बन्धमा फिनल्यान्डबाट मेकाट्रोनिक्स इन्जिनियरिङ विषयमा विशेषज्ञता हासिल गरेका तालिमका मुख्य प्रशिक्षक एवं भीजी मोटर्सका अनुसन्धान तथा विकास विभाग प्रमुख सम्राट गौतम भन्छन्, ‘हामी ईभी बेच्ने मात्र होइन, यसको सुरक्षित प्रयोग सुनिश्चित गर्ने अभियानको पनि नेतृत्व गर्न चाहन्छौं । यी प्रशिक्षकहरूमार्फत अब विद्यालय र सार्वजनिक गाडीका चालकहरूलाई देशैभर प्रशिक्षित गर्न सकिनेछ ।’
उक्त कार्यक्रममा भीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले यो पहिलो चरणको तालिम रहेको र भविष्यमा दोस्रो चरणको तालिम पनि आयोजना गरिने बताए ।
पहिलो चरणमा तालिम लिएका ड्राइभिङ इन्स्टिच्युटका प्रशिक्षकहरूले दोस्रो चरणमा सार्वजनिक सवारी साधन चलाउने चालकहरूलाई प्रशिक्षण दिनेछन् ।
प्रतिक्रिया