काठमाडौं— यही साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा पार्किङको सहज व्यवस्था मिलाइने भएको छ ।
नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार पत्रकार सम्मेलन गर्दै एक्स्पोमा आउने अवलोकनकर्ताका लागि नेपाल पुलिस क्लबको ब्लू बिल्डिङमा कार पार्किङको व्यवस्था गरिएको जानकारी दिएको हो।
नाइमाकी अध्यक्ष रीतुसिंह वैद्यका अनुसार सो स्थानमा २५० भन्दा बढी गाडी पार्क गर्न सकिने क्षमता छ। साथै, मोटरसाइकल र स्कुटरको लागि भृकुटीमण्डप परिसरभित्रै पार्किङको व्यवस्था गरिएको छ।
पहिलोपटक आयोजना हुन लागेको यो मोबिलिटी एक्स्पोमा दुईपांग्रे, चारपांग्रे र कमर्शियल गरी ५० भन्दा बढी ब्राण्डको सहभागिता रहनेछ। एक्स्पोमा एक दर्जनभन्दा बढी नयाँ कार र मोटरसाइकल सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ।
यस्तै एक्स्पोमा आउने विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
प्रवेश टिकटको दर २०० रुपैयाँ निर्धारण गरिएको छ भने हाल अध्ययनरत विद्यार्थीहरूले शैक्षिक संस्थाको परिचयपत्र देखाएर ५० प्रतिशत छुटमा, अर्थात् १०० रुपैयाँमै एक्स्पो अवलोकन गर्न सक्नेछन्।
टिकट बिक्रीबाट संकलित आम्दानीको ५ प्रतिशत रिसर्च र फेलोसिप कार्यक्रमका लागि छुट्याइने र इन्फ्लुएन्सरहरूको सहयोगमा सडक सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरिने कम्पनीको भनाई छ ।
प्रतिक्रिया