नाइमा एक्स्पोमा सार्वजनिक हुँदै बजाज र एथरको नयाँ इलेक्ट्रिक स्कुटर

मंगलबार, १३ साउन २०८२, १४ : १०

काठमाडौं– साउन २१ गतेदेखि सुरु हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक हुने भएका छन्। बजाजको चेतक र एथरको रिज्टा स्कुटर नेपाली बजारमा सार्वजनिक हुन लागेका हुन्।

डेढ दर्जन ब्रान्डको सहभागिता रहने एक्स्पोमा इलेक्ट्रिक दुईपांग्रे सवारीको बाहुल्यता रहने आयोजकले जनाएको छ। 

बजाज चेतक स्कुटर बजाजले निर्माण गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो, जसलाई नेपालमा हंशराज हुलाश चन्द एण्ड कम्पनीले ल्याउनेछ। लामो समयदेखि परीक्षणमा रहेको चेतक स्कुटरको बुकिङ र डेडिकेटेड शोरुम तयारी भइसकेको कम्पनीले जनाएको छ।

त्यसैगरी, एथर रिज्टा स्कुटर सार्वजनिक गर्ने तयारीमा भारतको चर्चित ईभी निर्माता एथर इनर्जी रहेको छ। कम्पनीले हालै मूल्य समायोजन गर्दै आक्रामक मूल्यमा रिज्टा बजारमा ल्याउने संकेत दिएको छ। रिज्टाका तीन संस्करणमध्ये जेड ३.७ किलोवाट क्षमताको मोडल मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।

यी स्कुटरको अनुमानित मूल्य ३ लाख रुपैयाँ हाराहारी पर्नेछ। दुवै स्कुटर भारतमै उत्पादन भएका हुन् र नेपाली बजारका लागि प्रतिस्पर्धात्मक मूल्यमा सार्वजनिक हुने तयारीमा छन्।

चेतक स्कुटरमा ३.५ किलोवाट क्षमताको ब्याट्री, १५३ किलोमिटर रेन्ज, टीएफटी टचस्क्रिन डिस्प्ले, स्मार्ट कनेक्ट, म्याप, म्युजिक कन्ट्रोलजस्ता फिचरहरू रहनेछन्।

एथर रिज्टा स्कुटरमा १०५–१२५ किमी रेन्ज, ८० किमी प्रतिघण्टा टप स्पिड, रिभर्स मोड, हिल होल्ड, ३४ लिटर अन्डरसिट स्टोरेजलगायत फिचर उपलब्ध छन्।

बजारमा लोकप्रियता बटुलेका एथर ४५० का फिचरहरूसँग मिल्दोजुल्दो रिज्टा स्कुटरको मूल्य भने तुलनात्मक रूपमा सस्तो हुने अनुमान गरिएको छ।
 

 
 
 
 
 
मंगलबार, १३ साउन २०८२, १४ : १०

प्रतिक्रिया