काठमाडौं— स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आयोजना गर्दै आएको नवौं संस्करणको ऊर्जा सम्मेलन पावर समिट २०२५ को मिति परिवर्तन गरिएको छ।
असोज १ र २ गते हुने भनिएको समिट अब २०७२ असोज २९ र ३० (अक्टोबर १५–१६, २०२५) मा साविककै स्थान सोल्टी होटलमा आयोजना हुने भएको हो। समिटको नयाँ मिति तय गर्नुको प्रमुख कारण सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र सो भ्रमणमा इप्पानका पदाधिकारीहरुको सहभागीता रहेको इप्पानले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
सन् २००६ देखि प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको पावर समिटको यस संस्करणको नारालाई ‘Empowering the Future: Harnessing Green Energy for Regional Prosperity’ राखिएको छ। इप्पानले मिति परिवर्तनले सहभागी र सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना गर्दै नयाँ मितिमा सम्मेलन भव्य रुपमा सफल बनाउन सबै सरोकारवाला निकायको सहकार्यको अपेक्षा जनाएको छ।
पावर समिट २०२५ को उद्देश्य सरकारद्वारा प्रस्तुत ऊर्जा विकास मार्गचित्र २०८१ अनुसार सन २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन पुर्याउने योजनामा नीतिगत बहस तथा अन्तरक्रिया गर्ने रहेको छ। समिटमा ३० भन्दा बढी मुलुकका लगानीकर्ता, कूटनीतिक तथा विकास साझेदार, निजी क्षेत्रका प्रतिनिधि, विज्ञ, बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनीलगायतको सहभागिता रहनेछ।
यस समिटलाई नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको संरक्षकत्व प्राप्त छ भने भारतीय राजदूतावास ‘कन्ट्री पार्टनर’ को रुपमा रहनेछ। इप्पानले समिटको उद्घाटन सम्माननीय प्रधानमन्त्रीज्यूबाट गराउने लक्ष्य राखेको छ।
इप्पानको अनुसार हरित ऊर्जा नेपालको समृद्धिको मात्र आधार नभई, सम्पूर्ण एशियाली आर्थिक विकासको पूर्वाधारको रुपमा स्थापित हुन सक्ने सम्भावना बोकेको क्षेत्र हो। त्यसका लागि समिटमा आन्तरिक तथा क्षेत्रीय रणनीतिहरुमा बहस गरिनेछ।
प्रतिक्रिया