टाटा मोटर्सले साढे ४ अर्ब डलरमा इटालियन ट्रक निर्माता इभेको किन्ने

विहीबार, १५ साउन २०८२, १२ : ३२

काठमाडौं— टाटा मोटर्सले आफ्नो विश्वव्यापी व्यापार रणनीति विस्तार गर्दै इटालियन ट्रक निर्माता इभेकोलाई अधिग्रहण गर्ने तयारी गरेको छ। करिब ४.५ अर्ब अमेरिकी डलरको यस सम्भावित सम्झौतालाई भारतीय अटो उद्योगको इतिहासमा कोरस समूहपछि दोस्रो ठूलो अधिग्रहण मानिएको छ।

यूरोपमा पकड बलियो बनाउने लक्ष्य सहित टाटाले इभेकोको २७.१ प्रतिशत सेयर एग्नेली परिवारको लगानी कम्पनी एक्सोर बाट खरीद गर्ने तयारी गरेको हो। यस सम्बन्धमा दुवै कम्पनीको बोर्ड बैठक बसेपछि अधिग्रहण प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ।

इभेको पछिल्लो समय आन्तरिक पुनःसंरचनाको क्रममा व्यावसायिक इकाइहरू अलग–अलग रूपमा बिक्री गर्ने योजनामा अघि बढिरहेको थियो। आर्थिक दबाब कम गर्न इभेकोले विभिन्न रणनीतिक साझेदारहरूसँग छलफल गरिरहेको थियो।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ, ‘निर्देशक बोर्डले सम्भावित लेनदेनको सबै पक्षको सावधानीपूर्वक मूल्याङ्कन गरिरहेको छ।’

अधिग्रहणको समाचार बाहिरिएपछि इभेकोको सेयर मूल्य ७.४ प्रतिशतले वृद्धि भएको छ। तर टाटा मोटर्सको सेयर बीएसईमा ३.९ प्रतिशत ले घटेर ६६५.४५ भारुमा झरेको छ ।

 
विहीबार, १५ साउन २०८२, १२ : ३२

प्रतिक्रिया