काठमाडौं–अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को उपस्थिति हुँदाहुँदै अटोमोबाइल्स क्षेत्रको सुधारको लागि थप नयाँ संस्था अर्थात नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को गठन भएको छ । (नाडा) ले गरेको जस्तै गरि (नाइमा) ले पनि ‘नाइमा मोबिलिटी एक्स्पो’ को आयोजना गर्दैछ । ‘नाइमा मोबिलिटी एक्स्पो’ आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । एक्स्पोले बजारमा थप नयाँ सवारी–साधन ल्याउने, खरिद–बिक्रीको आकार बढाउने एवं ज्ञान र सूचना भ्रमणकर्तामा प्रवाह गर्ने उद्देश्य लिएको छ ।
नेपाल राष्ट्र बैंकले सवारी–साधनप्रति लिएको कठोर नीतिगत व्यवस्थालाई चिर्दै अटो व्यवसायमा नयाँ आयाम थप्ने उद्देश्यले एक्स्पो हुँदैछ । नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का कार्यकारी निर्देशक राजकुमार दुलालसँग एक्स्पोको तयारी, अटोमोबाइल्स क्षेत्रप्रति सरकारको नीतिगत व्यवस्था, नाइमा गठनको आवश्यकता, नाडा एक्स्पोभन्दा नाइमा एक्स्पोको महत्व र सान्दर्भिकताका बारेमा आजको अर्थका लागि रविन ठकुरीले गरेको कुराकानीको सम्पादित अंशः
अटोमोबाइल्स क्षेत्रमा नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) नयाँ संस्था हो । नाइमाले गर्न लागेको ‘नाइमा मोबिलिटी एक्स्पो’ पनि पहिलो नै हो । नाइमाको पहिलो अटो एक्स्पोको तयारी कस्तो छ ?
नाइमाको अटो एक्स्पोको पूर्ण तयारीको काम भइरहेको छ । प्यानल डिस्कसनको लागि निमन्त्रणा बाँड्ने काम भइरहेको छ । फिडब्याक (प्रतिक्रिया) लिएर स्टल निर्माणको काम पनि धमाधम हुँदै छ । माक्रेटिङ्गको काम पनि अघि बढिरहेको छ । समाज कल्याण परिषद्को मापदण्डमा रहि कामहरु अघि बढ्दै छन् ।
विगतमा भएका अरु सवारी–साधनको मेलामा प्रस्तुत गरिएको सवारी–साधनले आगामी दिनमा यसको खरिद विक्रीको दिशालाई निर्धारण गरेको पाइन्छ । यो पहिलो अटो एक्स्पोबाट तपाइहरुले अपेक्षा गर्नुभएको छ ?
नाइमा अटो एक्स्पोका आयोजक विलकुल नयाँ होइनन् । आयोजक अनुभवी र भुक्तभोगी छन् । यो क्षेत्रको बारेमा धेरै जानकार छन् । यसलाई ठुलो एक्स्पो मानिएको छ । यसमा ५० भन्दा बढी ब्राण्ड सहभागी छन् । जसमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे समावेश छन् । भ्रमणकर्ताले एकै ठाउँमा सवारी–साधनको विभिन्न विकल्पको खोजी गर्ने अवसर पाउने छन् । नाइमा एक्स्पो मोबाइल सेक्टरको एक्जिभिजन मात्रै नभई ५ दिने छलफल गर्ने थलो पनि हो । यो सिक्ने थलोको रुपमा हेरिएकाले यसमा सिकाई अवसर पनि उत्तिकै छ । राष्ट्रिय एवं अन्तराष्ट्रिय विज्ञबाट प्यानल डिस्कषन पनि हुनेछ । यसमा सम्भावना, चुनौति र मार्गदर्शनको बारेमा विषयबस्तु पेस हुने छन् ।
एक्स्पो सञ्चालन गर्दा विभिन्न प्राविधिक र प्राकृतिक समस्याहरु आउने गर्दछन् । यी समस्याले एक्स्पो सञ्चालनमा जटिलता थप्ने काम गर्दछन् । एक्स्पोमा चुनौतीहरु के–के हुनसक्दछन् ? चुनौती समाधानका लागि तपाईहरुको तयारी कस्तो छ ?
एक्स्पोमा सवारी–साधनको प्रर्दशनसहित बहस र प्यानल डिस्कसनका सत्रहरु पनि राखिएका छन् । स्टलभित्र नै सबै विषयवस्तुहरु सञ्चालित हुने छन् । प्राकृतिक जटिलताको रुपमा अत्यधिक वर्षालाई लिइएको छ । ठुलो वर्षाले कार्यक्रममा जटिलता थप्ने अनुमान गरिएसँगै यसको व्यवस्थापनका लागि स्टलहरुमा पानी पर्दा नभिझ्ने सामाग्रीहरु प्रयोग गरिएका छन् । तल जमिनमा आउने पानीलाई पनि विपद्जन्यमा राखिएको छ । यो चुनौति समाधानको विकल्प समेत नाइमाले चयन गरिसकेको छ ।
भ्रमणकर्ता आउने जाने क्रममा सवारी–साधनको पार्किङ थप चुनौती थप्न सक्दछ । साथै गन्तव्य (नाइमा एक्स्पो) सम्म आइपुग्न आवत–जावतका लागि सवारी–साधन आवश्यक पर्दछ । यसका लागि पठाउँसँग सहकार्य गरिएको छ । नाइमा एक्स्पोभरि नाइमा एक्स्पोमा आउने–जाने यात्रुलाई पठाउँले सवारी–साधनको प्रयोगको भाडामा २०–३० प्रतिशतको छुटको व्यवस्था गरेको छ । पाक्रिङ्गका लागि नेपाल प्रहरीको ब्लु प्याभिलिएन हलको दुई तला मुनिको पार्किग स्थल एक्स्पो अवधिभर भ्रमणकर्ताले प्रयोग गर्न सक्नेछन् । यसमा २ सय हाराहारी सवारी–साधन पार्किङ गर्न सकिने छ ।
धेरै भिडभाडमा मोबाइल नेटवर्कको समस्या पनि जटिल हुन्छ । नेटवर्कको चुनौतीलाई हल गर्न एनसेललाई नेटवर्क पाटनर बनाइएको छ । टावरको पावर बढाउने सहमति भएको छ । यसले नेटवर्कको समस्यालाई हल गर्नेछ । एक्स्पोमा प्रवेश गर्नका लागि चाहिने टिकट खरिद–विक्रीका लागि खल्ती र आइएमइबाट गर्न सकिने छ । टिकटलाई क्यूआरबाट सजिलै खरिद गर्न सकिने छ । सुरक्षा चुनौती पनि एक्स्पोमा अत्याधिक हुने गर्दछ । यसका लागि २४ स्थानमा सिसिटिभी जडान गरिएको छ । एक्स्पो अवधिभर हिकभिजन (ज्ष्पखष्कष्यल) लाई सिसिटिभी पार्टनर मानिएको छ ।
भिटको (ख्ष्तअय) सँग सहकार्य गरि सम्भावित आगलागि नियन्त्रणका लागि ठाउँ–ठाउँमा फायर एक्सटिनगुइसर राखिएका छन् । स्वास्थ्य चुनौतीलाई न्यूनीकरण गर्नका लागि एक्स्पो अवधिभर फ्रन्टलाईन हस्पिटलसँग सहकार्य गरि निःशुल्क बल्ड प्रेसर जाँचको व्यवस्था गरिएको छ । एक्सपोमा मोबिलिटी क्षेत्रको नीति नियमको बारेमा छलफल हुनेछ । नेपाल सरकार र विदेशीले छलफलबाट समग्र क्षेत्रको चुनौतिको बारेमा प्रस्तुती एवं मार्गदर्शन दिनेछन् । यसले आगामी समयमा यो क्षेत्रले कम चुनौति सामाना गर्नुपर्ने अवस्था सिर्जना गर्ने छ ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सँग अलग भएर नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को गठन भएको छ । अटोमोबाइल्स क्षेत्रमा पहिल्यै नै एउटा संस्था हुँदाहुँदै नयाँ किन गठन गर्नुभयो ? नाडा छाडेर नाइमा किन आउनुभयो ?
नाइमा फुटेर बनेको विषयमा हामी सहमत छैनौं । नाइमाको आधारभूत संरचना म्यानुफ्याकचरर्स र इम्पोटरर्सको रहेको छ । यसको सदस्यता र बोर्डमा यहि संरचनाले काम गरेको छ । सहयोग र बृद्धिलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौं ।
सवारी–साधन विलासिताको वस्तु होइन । यसले अर्थतन्त्र चलायमान बनाउँदछ । जनजीवन चलाउने सम्पत्तिको रुपमा यसले काम गर्दछ । यसलाई हामीले विगतदेखि यसरी नै भन्दै आएका छौं र आगामी दिनमा पनि यसलाई यसरी नै भनिरहन्छां र काम पनि गछौं ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले पहिले पनि यस्तो अटो शो गर्दै आएको छ । तर तपाईहरु (नाइमा) को अटो एक्स्पो नयाँ हो । नाडाको अटो एक्स्पोभन्दा नाइमाको अटो शोमा के फरक छ ?
नाइमाको ध्यान एक्स्पो उत्कृष्ट बनाउनेतर्फ केन्द्रित छ । नाइमाको एक्स्पोले जनता वा सर्वसाधारणलाई उत्कृष्ट अपाङ्गमैत्री संरचना, गुणस्तरीय खाना, सहज यातायातको व्यवस्था, मोबाइल नेटवर्क, मेडिकलको व्यवस्था प्रदान गर्ने तर्फ जोड दिएको छ । एक्स्पो अवधिभर लर्निङ्ग सेसन पनि सञ्चालनमा आउने छन् । संवाद र छलफल यसमा समावेश हुने छ ।
नाइमाको अटो एक्स्पोमा कति वटा नयाँ सवारी–साधन अनावरण (लन्च) हुनेछन् ? कुन–कुन कम्पनीका सवारी–साधन रहेका छन् ?
नाइमाको अटो एक्स्पोमा ५० ब्राण्डका सवारी–साधनको सहभागीता रहने छ । ३५ नयाँ सवारी–साधनको अनावरण हुने छ । १५ चार पाङग्रे, १५ दुई पाङ्ग्रे र ५ कमर्सियल सवारी–साधन लन्च हुँदै छन् । ४८ वटा स्टलमा ५० वटा ब्राण्डका सवारी–साधन राखिने छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लोन टु भ्यालु रेसियोबाट सवारी–साधनप्रति कठोर नीति लिएको छ । यसले खरिद–विक्रीमा नै प्रभाव पारेको छ । नाइमाको अटो शोले राष्ट्र बैंकको कसिलो नीतिलाई चिर्दै सवारी–साधनको खरिद–विक्रीलाई थप उचाईमा लैजान सक्छ ?
सवारी–साधनप्रीत कठोर बनेको मौद्रिक नीतिको लोन टु भ्यालु रेसियोको विषयलाई उजागर गर्दै गभर्नरलाई ज्ञापनपत्र बुझाइसकेको छौं । लोन टु भ्यालुले समग्र सेल्समा प्रभाव पारेको छ । उपभोक्ताले आफुले सवारी–साधन प्रयोग गर्न पाउने अधिकारमा कमी आएको छ । आफुले चाहेको सवारी–साधन प्रयोग गर्न पाएका छैनन् ।
एक्स्पोमा भ्रमणकर्ताले सवारी–साधनको सूचनासहित ज्ञान पनि प्राप्त गर्नेछन् । एक्स्पोबाट पाएको ज्ञानले भ्रमणकर्तालाई सवारी–साधनप्रति उचित निर्णय लिन मद्दत गर्ने छ । एकै ठाउँमा भएको एक्स्पो र छलफल कार्यक्रमले भ्रमणकर्तालाई थप ज्ञान प्राप्त गर्न मद्दत गर्दछ । भ्रमणकर्ताले सहि सवारी–साधनको छनोट गर्ने मानसिकताको विकाससँगै खरिद–विक्रीमा जाने छन् । यसले सवारी–साधनको खरिद–विक्रीलाई बढाएर नयाँ उचाईमा पु¥याउने छ । अटोमोबाइल्स क्षेत्रको खस्किएको व्यवसायलाई थप उचाईमा पु¥याउन मद्दत गर्नेछ ।
प्रतिक्रिया