काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका बन्द हुँदा सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा सवारी–साधनको चाप बढेको छ । चीन जोड्ने बैकल्पिक नाकाको रुपमा हेरिएको रसुवागढी नाका सुचारु नहुँदा चीनस्थित कैलाश मानसरोवर तीर्थ यात्रा जाने यात्रुको चाप एवं चीनबाट नेपालका लागि चाहिने मालबस्तु ल्याउन सिन्धुपाल्चोकस्थित तातोपानी नाका प्रयोग हुँदा सवारी–साधनको चाप बढेको हो ।
बजारमा नागरिकलाई चाहिने चिनियाँ मालबस्तुको अभाव हुन नदिन रसुवागढी नाकाबाट आउने समाग्रीलाई पनि तातोपानी नाकाबाट ल्याउन थालिएको हो । रसुवागढी नाका सञ्चालनमा नआएसम्म तातोपानी नाकामा यसरी नै सवारी–साधनको चाप बढ्ने छ । नेपालीको चाडबाड लक्षित समग्री नाकाबाट नै प्राय प्रवेश गर्ने गर्दछ । तर नाकाको समस्याले बजारमा नागरिकलाई चाहिने मालबस्तुको अभाव र मूल्यबृद्धि नहुने व्यवसायीको भनाई छ ।
सिन्धुपाल्चोकस्थित तातोपानी नाका हाल केही दिन अवरुद्ध हुन पुगेको छ । गत वर्ष बाढीले बगाएको लिपिङ र लार्चाको पुल भएको स्थानमा बेली ब्रिजले जोडेसँगै दुईतर्फी सञ्चालनमा आएको तातोपानी नाका हाल सिन्धुपाल्चोकको कोदारीमा भारी वर्षाले सानो पहिरो खस्दा २०८२ साउन १८ गतेदेखि सडक अवरुद्ध हुँदा काठमाडौंतर्फ आउने ३० कन्टेनर फसेर बसेका हुन् ।
पहिरो खसेको स्थान (कोदारी) मा बाटो खुलाउन पहिरो हटाउने काम भइरहेकाले अबको १–२ दिनमा बाटो सुचारु भएसँगै तातोपानी नाकाको कन्टेनर सहज तरिकाले आवाज–जावत गर्न मिल्ने स्थानीय प्रशासनले बताएको छ ।
तातोपानी नाकाको अवस्था
२०८१ साल असोज १०–११ गतेको बाढीले सिन्धुपाल्चोकस्थित लिपिङ र लार्चाको पुल बगाएसँगै सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएको थियो । तर त्यही स्थानलाई बेली ब्रिजले जोडेसँगै तातोपानी नाका दुईतर्फी सञ्चालनमा आएको थियो । सवारी–साधनको आवत–जावत सहज तरिकाले भइरहेको थियो भने खासै समस्या देखिएको थिएन ।
‘हाल सिन्धुपाल्चोकको कोदारीमा भारी बर्षाले सानो पहिरो खस्दा २०८२ साउन १८ गतेदेखि सडक अवरुद्ध भएको छ । काठमाडौंतर्फ आउने ३० कन्टेनर त्यही फसेर बसेका छन् । पहिरो खसेको स्थान (कोदारी) मा बाटो खुलाउन पहिरो हटाउने काम भइरहेकाले अबको १–२ दिनमा बाटो सुचारु भएसँगै तातोपानी नाकाको कन्टेनर सहज तरिकाले आवाज–जावत गर्न मिल्ने छ ।’, सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले आजको अर्थलाई बताए ।
तातोपानी नाकामा सामान्य प्राकृतिक प्रकोपले छोटो समयलाई बाटो अवरुद्ध हुने समस्या बाहेक अन्य समस्या छैन । हाल सिन्धुपाल्चोकस्थित कोदारीमा गएको पहिरो सामान्य भएकाले यसलाई अस्थायी समस्या मानिएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवास्थित रसुवागढी नाका करिब–करिब ठप्प नै बनायो । लामो समयदेखि रसुवागढी नाका पूर्ण रुपमा ठप्प भएर मालवस्तु ढुवानी भएको छैन । राजधानी लगायत अन्य स्थानमा यो नाकाले हाल सम्बन्ध स्थापना गर्न सकेको छैन ।
रसुवागढी नाकामा सवारी–साधनको आगमन करिब–करिब शून्यमा नै झरिसकेको छ । तर राजधानी र अन्य स्थानलाई चाहिने चीनियाँ मालबस्तु भने सिन्धुपाल्चोकको तातोपानी नाकालाई प्रयोग गरि आइरहेका छन् । रसुवागढी नाकाको विकल्पको रुपमा सिन्धुपाल्चोकको तातोपानी नाका अत्याधिक प्रयोग भइरहेको छ । चीन जोड्ने बैकल्पिक नाकाको रुपमा हेरिएको रसुवागढी नाका सुचारु नहुँदा चीनस्थित कैलाश मानसरोवर तीर्थ यात्रा जाने यात्रुको चाप सिन्धुपाल्चोकको तातोपानी नाकाले थेगिरहेको छ ।
चीनबाट नेपालका लागि चाहिने मालबस्तु ल्याउन सिन्धुपाल्चोकस्थित तातोपानी नाका प्रयोग हुँदा सवारी–साधनको चाप बढेको हो । कैलाश मानसरोवर जान तीर्थ यात्रुलाई पहिलो प्राथमिक्ता दिँदा मालबस्तुको कन्टेनर आवत–जावतमा कमी आएको छ ।
‘पहिले दैनिक १५–२० कन्टेनरले तातोपानी नाका प्रयोग गर्दथे । तर रसुवागढी नाका बन्द हुँदा हाल १२–१३ वटा मालबस्तुको कन्टेनर आवत–जावत गर्ने गरेको छ । कैलाश मानसरोवर जाने तीर्थ यात्रुको सवारी–साधनलाई बढी महत्व दिएकाले मालबस्तुको कन्टेनरको संख्या घटेको हो । तर सावरी–साधनको चाप बढेको छ । दैनिक ३ सय हाराहारी यात्रु कैलाश मानसरोवर जाँदा उनीहरुले प्रयोग गर्ने सावरी–साधनले चाप बढाएको हो ।’, सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी गराए ।
नाकाको प्रभाव बजारमा कस्तो रहन्छ ?
भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी नाका बन्द हुन पुग्यो । हाल यो नाकाबाट चीनियाँ मालबस्तु आएका छैनन् । तर रसुवागढी नाका दशैँसम्ममा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यसका लागि नेपाल र चीन दुबै पक्षले पुननिर्माणको कामलाई तीव्रता दिएका छन् ।
नाकामा समस्या आएलगत्तै बजारमा यसको प्रभाव देखिन थाल्छ । मालबस्तुको अभाव हुन थाल्छ भने मूल्यबृद्धिले स्थान पाउन थाल्छ । नेपालीको ठुलो चाड दशैँ–तिहारमा मालबस्तु अत्याधिक खपत हुनेगर्दछ । चाडबाड नजिक नाका बन्द हुँदा समस्या झनै ठुलो बन्ने गर्दछ । तर रसुवागढी नाका दशैँसम्म सञ्चालनमा आउने योजना भएकाले र यसको विकल्पको रुपमा हेरिएको सिन्धुपाल्चोकको तातोपानी नाकामा समस्या नभएकाले चाडबाडमा खासै समस्या नदेखिने भएको छ ।
‘रसुवागढी नाकाबाट आउने सामाग्रीलाई तातोपानी नाकाबाट ल्याइनेछ । माग अनुसारको मालबस्तु तातोपानी नाकाले उपलब्ध गराउने भएकाले बजारमा खासै समस्या देखिने छैन । ढुवानीमा पनि समस्या छैन । यसले बजारमा मूल्यबृद्धि गराउँदैन । मालसामानको अभाव पनि हुने छैन ।’, नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले भने, ‘सामान्य पहिरो जाँदा बारम्बार बाटो बन्द भइरहेको छ । यसले चीनतर्फबाट आइसकेको मालबस्तु लामो समय होल्ड गर्न नमिल्ने हुँदा फिर्ता पठाउनुपर्दछ । यसले व्यवसायीलाई थप आर्थिक भार थप्दछ । समयमा बाटो पन्छाए हाललाई तातोपानी नाकामा समस्या छैन ।’
सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा व्यवसायीले प्रवेश पास हालसम्म पाउन सकेका छैनन् । त्यहीको स्थानीय समुदायसँग मात्र प्रवेश पास उपलब्ध छ । त्यहाँ उनीहरुको सिन्डीकेट रहेकाले अन्य व्यवसायीले सुविधा पाउन सकेका छैनन् । प्रवेश पासको अभावमा वास्तविक व्यवसायी तातोपानी नाकामा प्रवेश गर्न पाएका छैनन् । यसले व्यवसायीलाई समस्यामा पारेको छ । बजेटबाट प्रवेश पासको व्यवस्थापन (उपलब्धता) गर्ने भनिएता पनि तातोपानी नाकामा व्यवसायीले हालसम्म पास पाउन सकेको छैनन् । हालसम्म प्रवेश पासमा स्थानीयको सिन्डीकेट कायमै छ ।
प्रतिक्रिया