काठमाडौं– सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले आज नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्ताहरूलाई समयमै आवश्यक सहयोग र समर्थन उपलब्ध गराउनु हो। यो नयाँ सुविधा टिकटकको समग्र सुरक्षा अभियानको हिस्सा हो, जसले प्रयोगकर्ताहरूलाई सुरक्षित, सहयोगी र जानकारीमूलक डिजिटल वातावरण प्रदान गर्न खोजेको छ।
अब नेपालका प्रयोगकर्ताहरूले “sexual assault”, “abuse hotline”, “MeToo” जस्ता शब्दहरू खोज्दा उनीहरूलाई नेपाली हेल्पलाइन नम्बरहरू, प्रोफेसनल सहयोग सेवाहरू, तथा टिकटकको सेफ्टी सेन्टर अन्तर्गत रहेको ‘Sexual Abuse Support’ पेज मा लैजाने विशेष सूचना देखिनेछ। उक्त पेजमा यौन दुर्व्यवहारसम्बन्धी शैक्षिक सामग्री, उजुरी गर्ने तरिका, र पेशेवर सहयोगी संस्थाहरूको लिङ्क समावेश गरिएको छ।
“टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो”, टिकटकका ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले भने, "हामीलाई थाहा छ, कठिन परिस्थितिमा धेरै प्रयोगकर्ताहरू अनलाइन प्लेटफर्ममा जान्छन्। त्यसैले हामीले अग्रसर भएर सहयोगका विकल्पहरू देखाउन थालेका छौं, जसले पीडितहरूलाई आवश्यक सहयोगतर्फ डोहोर्याउने र टिकटकको यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीतिलाई बलियो बनाउनेछ।"
सेफ्टी सेन्टरको सो पेजले बाल यौनशोषण सामग्री (CSAM), बहकाउने व्यवहार (grooming), जबर्जस्ती यौन सम्पर्क, तथा सहमति बिना गरिने यौन क्रियाकलापबारे जानकारी दिन्छ। यसले यस्ता हानिकारक सामग्री उजुरी गर्ने तरिका सिकाउनुका साथै प्रयोगकर्तालाई सुरक्षित रहन प्रेरित गर्छ।
यस सुविधामा टिकटकको इन-एप उजुरी प्रणाली तथा बाह्य उजुरीका माध्यमहरूको जानकारी पनि दिइएको छ। पीडित व्यक्तिहरू र उनीहरूलाई सहयोग गर्न चाहनेहरूका लागि विशेष दक्षता भएका स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको डेटाबेस उपलब्ध गराइएको छ।
साथै, #Healing र #Recovery जस्ता ह्यासट्याग र सामग्रीहरूलाई प्राथमिकता दिइएको छ, जसले समुदाय, उपचार र पुनःस्थापनामा जोड दिन्छ।
प्रतिक्रिया