नेपाल टेलिकमले गोसाईकुण्ड जाने पदमार्गमा 2G BTS सञ्चालनमा ल्यायो

शुक्रबार, २३ साउन २०८२, १५ : ४९

काठमाडौँ–नेपाल टेलिकमले देशभर विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा 2G BTS  सञ्चालनमा ल्याएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित समुद्री सतहबाट करिब २ हजार ३ सय मिटरको उचाइमा रहेको सो स्थानमा सेवा सञ्चालन गरेको हो ।

नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिचित गोसाईकुण्ड जाने तिर्थालु तथा पदयात्रीहरुको सुविधालाई विशेष ध्यानमा राखेर धुन्चेदेखि गोसाईकुण्ड जाने पदमार्गमा पर्ने चन्दनबारीमा 2G BTS सञ्चालनमा ल्याएको हो ।

गोसाईकुण्ड जाने दर्शनार्थी तथा पर्यटकले धुन्चेदेखि देउराली, चन्दनबारी, लौरीविनायक र ४ हजार २ सय मिटरमा अवस्थित गोसाईकुण्डसम्म नेपाल टेलिकमको मोबाइल नेटवर्कको पहुँच पुगेको छ । साथै, नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा पुग्ने सेवाग्राहीहरुको सुविधाका लागि 4G नेटवर्क समेत विस्तार गर्ने योजना समेत गरेको छ ।

प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा परिचित गोसाईकुण्डमा प्रत्येक वर्ष जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । सो क्षेत्रमा सेवा सञ्चालनमा आए पश्चात दर्शनार्थी तथा पर्यटक लगायत सो क्षेत्रमा बसोबास गर्ने बासिन्दाले समेत सेवाबाट लाभन्वित हुनेछन् ।

दुर्गम तथा अति विकट क्षेत्रमा ग्रामिण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सेवा सञ्चालन गरिएको हो ।   

शुक्रबार, २३ साउन २०८२, १५ : ४९

प्रतिक्रिया