काठमाडौं– माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि हासिल गर्दै नाफा झण्डै दोब्बर बढाएको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ मात्र नाफा गरेको बैंकले यस वर्ष २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको हो, जुन ९२.४५ प्रतिशतले बढी हो।
बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढ्दै ५ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। यसै अवधिमा सञ्चालन नाफा झण्डै १ सय प्रतिशतले वृद्धि भई ३ अर्ब ३३ करोड रुपैयाँमा पुगेको छ। बैंकको वार्षिक प्रतिशेयर आम्दानी (EPS) पनि अघिल्लो वर्षको ८.८९ रुपैयाँबाट बढेर १७.३१ रुपैयाँ पुगेको छ।
बैंकको जगेडा कोष ४८ प्रतिशतले बढेर ६ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ भने सञ्चित मुनाफा ३ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ मूल्य २६१.०९ रुपैयाँमा उक्लिएको छ।
निक्षेप पक्षमा, कम्पनीको निक्षेप संकलन ३.२३ प्रतिशतले बढेर २ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ। तर, अघिल्लो वर्षको चौथो त्रैमासमा यसले ३.४८ प्रतिशत गिरावट बेहोरेको थियो।
प्रतिक्रिया