कमर्शियल सवारी बिक्रीमा सुधार, आइएमई मोटर्सको व्यापारमा उल्लेख्य वृद्धि

आइतबार, २५ साउन २०८२, १४ : १३

काठमाडौं— आइएमई मोटर्सले सन् २०२५ को पहिलो ९ महिनामा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीको कमर्शियल सवारी साधन बिक्रीमा सुधार आएपछि व्यापारमा उल्लेखनीय वृद्धि देखिएको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार, आइएमई मोटर्सले सन् २०२४ को कुल २ अर्ब ३४ करोड रुपैयाँको व्यापारको तुलनामा यस वर्षको ९ महिनामा लगभग त्यस्तै व्यापार गरेको छ । कम्पनीले आगामी ३ महिनामा अझ बढी व्यापार गर्ने अपेक्षा राखेको छ ।

कम्पनीले सन् २०२२ मा सर्वाधिक ३ अर्ब १४ करोड रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२० देखि २०२३ सम्म क्रमशः १ अर्ब ८३ करोडदेखि १ अर्ब ७५ करोड रुपैयाँ व्यापार गरेको तथ्यांक इक्राले प्रस्तुत गरेको छ ।

आइएमई मोटर्सले हाल ३ अर्ब २५ करोड रुपैयाँ ऋण लिने तयारी गरिरहेको छ । यसमा २ अर्ब १२ करोड दीर्घकालीन र १ अर्ब १२ करोड अल्पकालीन ऋण समावेश छ । इक्राले दीर्घकालीन ऋणका लागि ‘इक्रा एनपी एलबी माइनस’ र अल्पकालीनका लागि ‘इक्रा एनपी एफोर’ रेटिङ दिएको छ ।

आइएमई मोटर्स नेपालमा अशोक लेल्यान्डका आधिकारिक बिक्रेता हो र बस, ट्रक, ट्रिपर, लाइट कमर्शियल भेहिकल बिक्री गर्दै आएको छ । कम्पनी सन् २०१० मा एलटी इन्टरप्राइजेज प्रालिको रूपमा स्थापना भई सन् २०१७ मा नाम परिवर्तन गरी आइएमई मोटर्स प्रालि बनेको हो ।

 
आइतबार, २५ साउन २०८२, १४ : १३

प्रतिक्रिया