विद्युतीय सवारी साधनमा बढ्दो आकर्षण

तातोपानी नाकाबाट ईभीको अत्यधिक आयात, करिब १९ अर्ब राजस्व असुली

आइतबार, २५ साउन २०८२, १८ : ०६

काठमाडौं– सिन्धुपाल्चोकस्थित तातोपानी नाकामा विद्युतीय सवारी–साधनको आयात अत्याधिक हुँदा राजस्वमा उल्लेखनीय सुधार आएको छ ।  आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी भन्सार कार्यालयले निर्धारित लक्ष्यको ८६.७८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । राजस्व असुलीमा विद्युतीय सवारीसाधन पैठारीको हिस्सा ठूलो छ ।

आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयले २१ अर्ब ७३ करोड ५६ लाख ५२ हजार राजस्व संकलनको लक्ष्य लिएकोमा १८ अर्ब ८६ करोड २१ लाख ४५ हजार ९ सय ७५ रुपैयाँ राजस्व संकलन गर्न सफल भएको हो । भन्सार महसुल आयात, मूल्य अभिबृद्धि कर, अन्तः शूल्क, अग्रिम आयकर, कृषि सुधार शुल्क, भन्सारको अन्य आय, सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर, पूर्वाधार विकास कर र हरित कर राजस्व शीर्षकबाट तातोपानी भन्सार कार्यालयले उक्त राजस्व संकलन गरेको हो।

आर्थिक वर्ष २०८१/०८२ को आषाढ महिनाको मासिक राजस्व संकलनको निर्धारित लक्ष्य १ अर्ब ८७ करोड ३० लाख ८७ हजार रहेकोमा ९८ करोड ६९ लाख ८१ हजार १ सय ६० रुपैयाँ राजस्व संकलन भएको छ । जुन निर्धारित लक्ष्यको ५२.६९ प्रतिशत राजस्व हो । आर्थिक वर्ष २०८१/०८२ को जेठ महिनामा तातोपानी भन्सार कार्यालयले १९ अर्ब ८६ करोड २५ लाख ६५ हजार लक्ष्य रहेकोमा १७ अर्ब ८७ करोड ५१ लाख ६४ हजार ८ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को जेठ महिनामा तातोपानी भन्सार कार्यालयले ८९।९९ प्रतिशतको राजस्व असुलीको प्रगति हासिल गरेको छ । 

‘जेठ १५ पछि राजस्वको दरमा फेरबदल हुन्छ । राजस्वमा उतार–चढाव आउने डरले व्यवसायीले मालवस्तु छुटाउने काम छिटो–छिटो गर्दछन् । यसले जेठ महिनामा राजस्वको प्रगति बढी देखिने गर्दछ । तर जेठ महिनापछि राजस्वको दरमा खासै परिवर्तन नआउने भएकाले व्यवसायीले आवश्यकता अनुसार मालवस्तु छुटाउने गर्दछन् । आषाढ महिनामा राजस्व असुली कम देखिने गर्दछ ।’, सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले आजको अर्थलाई भने, ‘पैठारीकर्ताको सामानको आउने–जाने क्रमको बृद्धि र ऐन नियमको पालनाले तातोपानी भन्सार कार्यालयले निर्धारित राजस्व संकलनको लक्ष्य करिब–करिब भेटाउन सफल भएको हो । तातोपानी नाकाबाट विद्युतीय सवारी–साधनको आयातमा बढोत्तरी हुँदा राजस्वमा उल्लेखनीय सुधार आएको हो ।’ 

तातोपानी नाकाः आर्थिक वर्ष २०८१/०८२ मा राजस्वको लक्ष्य र असुली  

आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी भन्सार कार्यालयले लक्षित राजस्वको ८६.७८ प्रतिशत प्रगति हासिल गरेको छ । तातोपानी भन्सार कार्यालयले २१ अर्ब ७३ करोड ५६ लाख ५२ हजार लक्ष्य लिएकोमा १८ अर्ब ८६ करोड २१ लाख ४५ करोड ९ सय ७५ रुपैयाँको राजस्व संकलन गरेको छ । तातोपानी भन्सार कार्यालयले करिब–करिब लक्षित राजस्वको आंकडालाई भेटउन खोजेको हो । 

‘तातोपानी नाकामा पैठारीकर्ताको सामानको फ्लो बढ्यो । ईभि गाडीको संख्या धेरै बढ्यो । यो नाकाबाट धेरै ईभि गाडी ल्याउँदा राजस्व असुलीमा बृद्धि आयो ।’, सिन्धुपाल्चोकको लार्चास्थित तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले भने, ‘तातोपानी भन्सारले ऐन नियमको कार्यान्वयन राम्रोसँग ग¥यो । बस्तुनिष्ठ घोषणा, यथार्थपरक मूल्यांकनले राजस्वमा सुधार आयो । यो हाम्रो नियमित काम हो ।’ 

भन्सार महसुल आयात, मूल्य अभिबृद्धि कर, अन्तः शूल्क, अग्रिम आयकर, कृषि सुधार शुल्क, भन्सारको अन्य आय, सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर, पूर्वाधार विकास कर र हरित कर शीर्षकबाट तातोपानी भन्सार कार्यालयले उक्त राजस्व संकलन गरेको हो । आर्थिक वर्ष २०८१÷०८२ मा सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भन्सार महसुल आयात शीर्षकबाट ७ अर्ब ८१ करोड ८७ लाख ६४ हजार ४ सय ६७ रुपैयाँ राजस्व असुली गरेको छ । राजस्व लक्ष्य भने १० अर्ब ९७ करोड ९ लाख ८ हजार रुपैयाँ रहेको छ । निर्धारित लक्ष्यको ७१.२७ प्रतिशत राजस्व असुली भएको हो ।

मूल्य अभिबृद्धि कर शीर्षकमा ८६.४४ प्रतिशतको प्रगति हासिल भएको छ । उक्त शीर्षकमा लक्षित राजस्व ८ अर्ब ३० करोड २९ लाख ८८ हजार रहेकोमा ७ अर्ब १७ करोड ७१ लाख १० हजार ८ सय ८२ रुपैयाँ असुली भएको छ । अन्तः शूल्क शीर्षकमा १७७.२९ प्रतिशतको प्रगति हासिल भएको छ । यो शीर्षकमा १ अर्ब ४१ करोड १ लाख १४ हजार रुपैयाँको लक्ष्य राखिएकोमा २ अर्ब ४९ करोड ९९ लाख ५४ हजार २ सय १ रुपैयाँ राजस्व असुली भएको हो । 

अग्रिम आयकर शीर्षकमा ५६.९६ प्रतिशतको प्रगति हासिल भएको हो । अग्रिम आयकर शीर्षकको लक्षित राजस्व ७५ करोड ८ लाख ६ हजार रुपैयाँ रहेको छ । यो शीर्षकमा ४२ करोड ७६ लाख ८४ हजार २ सय ७१ रुपैयाँ राजस्व असुली भएको छ । कृषि सुधार शुल्क शीर्षकमा ३ लाख ९३ हजार ४ सय १४ रुपैयाँ राजस्व असुली भएको छ । 

भन्सारको अन्य आय शीर्षकबाट ४.१४ प्रतिशतको प्रगति हासिल भएको हो । भन्सारको अन्य आय शीर्षकको लक्षित राजस्व १६ करोड ७१ लाख ३३ हजार रुपैयाँ रहेकोमा ६९ लाख २७ हजार रुपैयाँ राजस्व असुली भएको हो । सडक मर्मत तथा सुधार दस्तुर शीर्षकको लक्षित राजस्व १० करोड ४१ लाख ५९ हजार रुपैयाँ रहेकोमा राजस्व असुली शून्य रहेको छ । 

सडक निर्माण तथा सम्भार दस्तुर शीर्षकको लक्षित राजस्व २ करोड २४ लाख ३१ हजार रुपैयाँ रहेकोमा ९३ करोड १३ लाख २ हजार ७ सय ९१ रुपैयाँ राजस्व असुली भएको छ । यो लक्षित राजस्वको ४१५१.८६ प्रतिशत प्रगति हो । पूर्वाधार विकास कर शीर्षकको लक्षित राजस्व ७१ लाख १३ हजार रहेकोमा असुली शून्य रहेको छ । हरित कर शीर्षकमा ८ हजार ९ सय ४९ रुपैयाँ राजस्व असुली भएको छ । तर यो शीर्षकमा राजस्व उठाउने योजना रहेको थिएन ।                

आर्थिक वर्ष २०८१/०८२ मा तातोपानी नाकाबाट पैठारी भएका १० मुख्य मालवस्तु

आर्थिक वर्ष २०८१/०८२ मा तातोपानी नाकाबाट सबैभन्दा धेरै यातायातका साधन र तिनका पार्टपुर्जा पैठारी भएका छन् । यसमा ईभि गाडीको हिस्सा ठुलो छ । तातोपानी नाकाबाट विद्युतीय सवारी–साधनको अत्याधिक आयात हुँदा राजस्वमा समेत उल्लेखनीय सुधार आएको छ । तातोपानी नाकाबाट यातायातका साधन र तिनका पार्टपुर्जा, तयारी कपडा, जुत्ता तथा चप्पलहरु, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा, तरकारी, फलफुल, ड्राई फ्रुट, होजियरी कपडा, सुती कपडा, प्लास्टिकका सामानहरु, मेसीनरी तथा पार्टपुर्जा, सेन्थेटिक कपडा, फलाम तथा फलामका सामग्रीहरु अत्याधिक पैठारी भएका छन् । यी मालवस्तुको पैठारीबाट सिन्धुपाल्चोकस्थित लार्चाको तातोपानी भन्सार कार्यालयले धेरै राजस्व असुली गरेको हो । 

यातायातका साधन र तिनका पार्टपुर्जाको १४ अर्ब २७ करोड ८६ लाख १३ हजार ७ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ । यातायातका साधन र तिनका पार्टपुर्जामा भएको उक्त कारोबारबाट तातोपानी भन्सार कार्यालयले ७ अर्ब ५६ करोड ९० लाख १२ हजार ४ सय ५३ रुपैयाँको राजस्व असुली गरेको हो । यातायातका साधन र तिनका पार्टपुर्जाले तातोपानी भन्सार कार्यालयको राजस्वमा ४०.६१ प्रतिशतको योगदान दिएको छ । तयारी कपडाले राजस्वमा १४.५२ प्रतिशतको योगदान दिएको छ । तयारी कपडाको ७ अर्ब ६४ करोड ७५ लाख ७४ हजार ४ सय २५ रुपैयाँको कारोबारबाट २ अर्ब ७३ करोड ७९ लाख २३ हजार ५ सय ७४ रुपैयाँको राजस्व संकलन भएको छ । 

त्यसैगरि, जुत्ता तथा चप्पलहरुको १ अर्ब ५४ करोड ११ लाख १० हजार ६ सय ६७ रुपैयाँ कारोबारबाट ९० करोड ८२ लाख ६४ हजार ९ सय ३ रुपैयाँको राजस्व असुली भएको छ । राजस्व संकलनमा जुत्ता तथा चप्पलहरुको योगदान ४.८२ प्रतिशत रहेको छ । इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट ८४ करोड ३४ लाख १५ हजार ७ सय ७७ राजस्व असुली भएको छ । इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाको ३ अर्ब ४८ करोड १६ लाख ६४ हजार १ सय ५८ रुपैयाँको कारोबारबाट तातोपानी भन्सार कार्यालयलाई ४।४७ प्रतिशतको राजस्व असुलीको योगदान दिएको हो । 

तरकारीको पैठारीले ४.२५ प्रतिशतको राजस्वको योगदान दिएको छ । तरकारीको ३ अर्ब ८ करोड १६ लाख १३ हजार ७ सय ६२ रुपैयाँको कारोबारबाट ८० करोड १३ लाख ८ हजार २ सय ५८ रुपैयाँ राजस्व संकलन भएको हो । फलफुलको पैठारीले ३।९२ प्रतिशतको राजस्वको योगदान दिएको छ । फलफुलको ३ अर्ब ५८ करोड ६९ लाख ८५ हजार ५ सय ७९ रुपैयाँको कारोबारबाट ७३ करोड ८८ लाख ७४ हजार १ सय ७९ रुपैयाँको राजस्व संकलन भएको छ । 

ड्राई फ्रुटको पैठारीबाट ६१ करोड ३४ लाख २६ हजार ४ सय ९७ रुपैयाँको राजस्व संकलन भएको छ । ड्राई फ्रुटको १ अर्ब ५१ करोड ६५ लाख ६९ हजार १ सय ३० कारोबार मूल्यबाट तातोपानी भन्सार कार्यालयलाई ३।२५ प्रतिशतको योगदान दिएको हो । होजियरी कपडाले राजस्वमा ३।२२ प्रतिशतको योगदान दिएको छ । होजियरी कपडाको २ अर्ब २ करोड ६ लाख ७१ हजार ८ सय ७५ रुपैयाँको कारोबारबाट ६० करोड ६९ लाख १३ हजार ५ सय ८६ रुपैयाँको राजस्व संकलन भएको छ । 

सुती कपडाले राजस्वमा २.९६ प्रतिशतको योगदान दिएको छ । सुती कपडाको १ अर्ब ८५ करोड ९३ लाख ५८ हजार ५ सय ५३ रुपैयाँको कारोबारबाट ५५ करोड ८२ लाख ८९ हजार ७ सय ६ रुपैयाँ राजस्व असुली भएको हो । प्लास्टिकका सामानहरुले राजस्वमा २।५३ प्रतिशतको योगदान दिएको छ । प्लास्टिकका सामानहरुको ९० करोड ७५ लाख १० हजार ५ सय ९० रुपैयाँको कारोबारबाट ४७ करोड ८० लाख ५० हजार १ सय रुपैयाँ राजस्व असुली भएको हो । 

मेसीनरी तथा पार्टपुर्जाको १ अर्ब ८३ करोड ४९ लाख ९४ हजार ३ सय ४६ रुपैयाँको कारोबारबाट ४० करोड ८७ लाख ७३ हजार ९ सय ४९ रुपैयाँ राजस्व असुली भएको छ । तातोपानी भन्सार कार्यालयमा यसको राजस्वमा २।१७ प्रतिशतको योगदान रहेको छ । सेन्थेटिक कपडाको राजस्वमा १।६२ प्रतिशतको योगदान रहेको छ । सेन्थेटिक कपडाको १ अर्ब १ करोड ७१ लाख ६७ हजार ९ सय ३६ रुपैयाँको कारोबारबाट ३० करोड ६४ लाख ४५ हजार ९ सय ४४ रुपैयाँको राजस्व संकलन भएको हो । 

फलाम तथा फलामका सामग्रीहरुबाट १२ करोड ४४ लाख ८४ हजार ४९ रुपैयाँ राजस्व संकलन भएको छ । फलाम तथा फलामका सामग्रीहरुको ३२ करोड ३५ लाख ३ हजार २ सय ४७ रुपैयाँको कारोबारले ०।६६ प्रतिशतको राजस्वमा योगदान दिएको छ । अन्य मालबस्तुको पैठारीले तातोपानी भन्सार कार्यालयलाई ११ प्रतिशतको राजस्व योगदान दिएको छ । अन्य मालवस्तुको ७ अर्ब ५ करोड ५५ लाख १९ हजार ६ सय ५९ रुपैयाँ कारोबारबाट २ अर्ब ७ करोड ५३ लाख ४५ हजार २५ रुपैयाँको राजस्व असुली भएको छ ।                 


 

 
 
 
 
 
आइतबार, २५ साउन २०८२, १८ : ०६

प्रतिक्रिया