काठमाडौं - विश्वमा आर्थिक मन्दी छाएको प्रचारबाजी भैरहँदा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२५ को लागि विश्वव्यापी आर्थिक वृद्धिको अनुमान बढाएको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक अपडेट’मा आईएमएफले २०२५ को विश्व अर्थतन्त्र वृद्धिदरको प्रक्षेपण ३ प्रतिशतमा पुर्याएको छ । यो अघिल्लो अप्रिलमा गरिएको २.८ प्रतिशतको अनुमानभन्दा ०.२ प्रतिशत बिन्दुले बढी हो ।
आईएमएफका अनुसार विश्व व्यापारको निरन्तर विकासले आर्थिक दृष्टिकोणलाई अझ सकारात्मक बनाएको छ । सन् २०२५ को लागि उदीयमान बजार र विकासशील मुलुकहरूको वृद्धि दर ४.१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन अप्रिलको तुलनामा ०.४ प्रतिशत बिन्दुले बढी हो । विकसित अर्थतन्त्रको वृद्धिदर पनि सुधार हुँदै १.५ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।
आईएमएफले व्यापार र आर्थिक नीतिको अनिश्चितताले आगामी वर्षहरूमा विश्व अर्थतन्त्रमा असर पार्न सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएको छ । वास्तविक–समयमा हुने व्यापारिक नीतिहरूले आर्थिक प्रवृत्तिमा तत्काल प्रभाव पार्ने भएकाले नीति निर्माताहरूले लचकता अपनाउनुपर्ने आईएमएफको सिफारिस छ ।
आगामी महिनाहरूमा मुद्रास्फीति, मौद्रिक नीति, तथा भूराजनीतिक तनावका कारण विश्व अर्थतन्त्रले अझै पनि चुनौतीको सामना गर्नुपर्ने विश्लेषकहरूको भनाइ छ । तथापि, आईएमएफको पछिल्लो संशोधनले विश्व आर्थिक पुनरुत्थानको संकेत दिएको छ ।
प्रतिक्रिया