खेत बाँझिन थालेपछि रोपाइँ पनि ठेक्कामा, वडा कार्यालयले गर्यो किसानलाई सम्मान

विहीबार, २९ साउन २०८२, १० : ०५

बागलुङ ।  काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन्  । 

गाउँको एक हजार ५०० रोपनी रोपाइँयोग्य खेत बाँझिने क्रम बढेपछि प्रतिरोपनी रु तीन हजार २६६ मा ठेक्का लिएर उनीहरूले रोपाइँको  चाजोपाजो मिलाएका हुन् । खेतालो खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेलगायत सबै कामको व्यवस्था उनीहरूले गरिदिन्छन् तर त्यसबापत अग्रिम रुपमा रकम उपब्ध गराउनुपर्छ । 

घर्ती दम्पतीले गत असारमा १८९ रोपनीमा रोपाइँ गरेर रु छ लाख १७ हजार ४०० आर्जन मात्र गरेनन्, १० जनालाई रोजगारी पनि दिए । 

किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर रु छ लाख सात हजार ६०० कमाए । उनले पनि १० जना खेतालालाई एक महिना रोजगारीको व्यवस्था गरे । 

नयाँ अवधारणाका साथ बाँझा खेत हरियालीमा परिणत भएपछि वडा कार्यालयले उनीहरूलाई सम्मान गरेको छ । साथै खनजोत गर्न उनीहरूलाई वडाले एउटा मिनी टिलर उपहार दिने घोषणा गरेको छ । 

बुधबार वडा कार्यालयमा पौरखी किसानलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले भने, “प्याकेजमा खेत रोप्ने योजना अनुकरणीय छ । जग्गाधनीले खेताला खोज्ने, उनीहरूलाई खाना, पानी, गोरु, ट्याक्टरको व्यवस्थाको झन्झट परेन । रकम भुक्तानी भए खेत रोपियो ।”
 

 
 
विहीबार, २९ साउन २०८२, १० : ०५

प्रतिक्रिया