जगदम्बा मोटर्ससँग प्रोटोनको सहकार्य निरन्तर रहने

सोमबार, ०२ भदौ २०८२, १६ : ४७

काठमाडौं- नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्स र प्रोटोन मलेसियाले नेपालको इलेक्ट्रिक मोबिलिटीतर्फको भविष्यका लागि अझै प्रतिबद्ध भएर सहकार्यमा लाग्ने पुनः प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाली बजारमा मलेसियाको पहिलो स्थानीय रुपमा विकास गरिएको ईभी प्रोटोन ईमास ७ भित्र्याए पश्चात यो यात्रा अझै फराकिलो बनेको र आगामी दिनमा यो सहकार्य अझै बढ्ने दुवै कम्पनीको भनाइ छ ।

एक विज्ञप्ति सार्वजनिक गर्दै जगदम्बा मोटर्सले सो सहकार्य निरन्तर रहेको र प्रोटोन तथा जिली दुवै कम्पनीसँग जगदम्बा मोटर्सको सहकार्य रहेको बताइएको छ । प्रोटोन र जिलीका गाडीको नेपालका लागि सेल्स, सर्भिसिङ र वारेन्टी उपलब्ध गराउने एक मात्र आधिकारिक कम्पनी समेत आफूहरु भएको जगदम्बा मोटर्सले स्पष्ट पारेको छ ।

प्रोटोन इन्टरनेसनल कर्पोरेसनका चिफ एक्जिक्युटिभ अफिसर एडमन्ड लिम मेङले सन् २०१८ देखि नै दुवै कम्पनी बिच सहकार्य रहेको र नेपालमा हालै प्रोटोन ईमास ७ भित्रिए पश्चात सो सहकार्य अझै बलियो बनेको बताए । यसका साथै नेपालमा जिली ब्रान्डको सवारी साधनका लागि कुनै आधिकारिक वितरक नियुक्त नगरेको समेत उनले बताए ।

नेपालमा सन् २०१८ को नोभेम्बर देखि प्रोटोन र जगदम्बा मोटर्स बिच सहकार्य प्रारम्भ भएको थियो । त्यो समय पश्चात नेपाली बजारमा प्रोटोनका सवारी साधन भित्रिएका थिए । गत मार्च महिनामा नेपालमा प्रोटोन ईमास ७ लन्च भएको थियो ।

जगदम्बा मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले समेत प्रोटोनसँगको सहकार्य डिष्ट्रिब्युटरको रुपमा मात्र नरहेको र नेपाली ग्राहकलाई उपयुक्त ईभी उपलब्ध गराउने एक प्रतिबद्धता समेत भएको बताए ।

हाल नेपालमा प्रोटोनका ३ शोरुम र सर्भिस सेन्टर छन् भने सन् २०२५ को अन्त्य सम्म १२ पुग्ने कम्पनीको भनाइ छ । यसका साथै प्रोटोनका जेन्युइन स्पेयर पार्ट्स, प्रोटोन र जिली सर्टिफाइड टेक्निसियन, एड्भान्स्ड डायग्नोस्टिक टुल्स र अन्य वारेन्टी तथा ग्राहक सेवासँग सम्बन्धित विभिन्न सेवा रहेका छन् ।

 
सोमबार, ०२ भदौ २०८२, १६ : ४७

प्रतिक्रिया