काठमाडौं–बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलता व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको बेला नेपाल अटोमोबाइल्स एशोसएसन अफ नेपाल (नाडा) गरेको नाडा अटो शो कर्जा प्रवाहका लागि उचित गन्तब्य बनेको छ । काठमाडौँको भृकुटीमण्डपमा भदौ ३ गतेदेखि सञ्चालन भइरहेको नाडा अटो शो २०२५ मा बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धा गरेर नै सस्तो व्याजदरमा कर्जा प्रवाहका स्कीम (योजना) हरु सार्वजनिक गरिररहेका हुन् ।
नाडा अटो शो २०२५ मा आएका भ्रमणकर्तालाई बैंक तथा वित्तीय संस्थाले आफ्नो आकर्षक व्याजदरका योजना सुनाएर अवलोकनकर्तालाई आकर्षित गरिरहेका छन् । नाडा अटो शोमा ८ वटा बैंकले आफ्नो स्टल राखेर भ्रमणकर्तालाई आकर्षित गरिरहेका छन् । कृषि विकास बैंक, नविल बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मि सनराइज बैंक, एनएमबि बैंक, सानिमा बैंक र नेपाल एसबीआई बैंकले नाडा अटो २०२५ मा आफ्नो स्टल राखेर स्किम ग्राहकलाई बताएर सस्तो ब्याजदरमा कर्जा लैजान आग्रह गरिरहेका छन् ।
प्राय नेपालीले चाडबाड नजिकिँदै गर्दा नयाँ घर, नयाँ गाडी, गरगहना, लत्ताकपडा लगायतका नयाँ सामाग्री खरिद गर्ने परम्परा छ । नाडा अटो शो २०२५ पनि दशैं र तिहार चाडबाडलाई लक्षित गरि आयोजना गरेको प्रर्दशनी हो । यो प्रर्दशनीको उद्देश्य नै नयाँ सवारी–साधन खरिद–विक्री गराउनु हो । नयाँ–नयाँ सवारी–साधनसहित बैंक तथा बित्तीय संस्थालाई प्रर्दशनीमा राखेर ग्राहकलाई आकर्षक व्याजदरको प्रलोभनमा पारेर खरिद–विक्रीबाट अधिक तरलताको ब्यवस्थापन गराएर खस्किएको अटोमोबाइल्स क्षेत्रको व्यवसायलाई उकास्ने कोशिस प्रर्दशनीले गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिको लोन टु भ्यालु रेसियोले प्रभाव पारेको अटो व्यवसायलाई उकास्न नाडा अटो शो २०२५ लाई अचुक औषधी बनाउन व्यवसायी लागिपरेका हुन् । नयाँ सवारी–साधनको (लन्च) अनावरण, बैंकको आकर्षक स्किम र आकर्षक सवारी–साधनको प्रर्दशनीले अटोमोबाइल्स क्षेत्रको व्यवसायलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यवसायीले गरिरहेका छन् ।
बैंक तथा वित्तीय संस्थाको व्याजदरमा आकर्षक स्किम
नाडा अटो शो २०२५ मा ८ वटा बैंक तथा वित्तीय संस्थाले आफ्नो स्टलहरु राखेर व्याजदरको नयाँ र आकर्षक स्किमहरु ग्राहकलाई दिइरहेका छन् । कृषि विकास बैंक, नविल बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मि सनराइज बैंक, एनएमबि बैंक, सानिमा बैंक र नेपाल एसबीआई बैंकले नाडा अटो शो २०२५ मा अटो लोन सम्बन्धि सस्तो व्याजदरको योजना भ्रमणकर्तालाई दिएर कर्जा लैजान आग्रह गरिरहेका छन् । हाल बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलतालाई अटो शोको माध्यमबाट व्यवस्थापन गर्न खोजिएको छ । अटो क्षेत्रमा कर्जा प्रवाह गरेर अधिक तरलताको समस्यालाई थोरै भएपनि समाधान गर्न खोजिएको हो ।
बैंक तथा वित्तीय संस्थामा ७२ खर्ब ३७ अर्ब रुपैयाँको निक्षेप संकलन भएको छ भने ५५ खर्ब ८८ अर्ब रुपैयाँको कर्जा प्रवाह भएको हो । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाहमा १६ खर्ब ४९ अर्ब रुपैयाँको अन्तर देखिएको छ । अर्थात कर्जा प्रवाहभन्दा निक्षेप संकलन १६ खर्ब ४९ अर्ब रुपैयाँले बढी भएको नेपाल राष्ट्र बैंकको २०८२ साल भदौ २ गतेको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकले ६४ खर्ब ८३ अर्ब रुपैयाँको निक्षेप संकलन गरेको छ भने ५५ खर्ब ६७ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ भने कर्जा प्रवाह ६ खर्ब २१ अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
यो अधिक तरलता व्यवस्थपन बैंक तथा बित्तीय संस्थालाई टाउको दुखाईको विषय बनिरहेको समयमा नाडा अटो शो २०२५ गतिलो औजार बनेको छ । यहि अटो शोमा आएर आफ्नो ब्याजदरको नयाँ स्किम भ्रमणकर्तालाई दिएर ग्राहक लोभ्याइरहेका छन् । नबिल बैंकले ६.७४ प्रतिशतको व्याजदर अटो लोनमा दिएर ग्राहक तानिरहेको छ । यो फ्लोटिङ्ग व्याजदर ७ वर्षको लागि कायम गरिएको छ । यसको प्रोसेसिङ्ग शुल्क ०.५० प्रतिशत कायम गरिएको हो ।
एनएमबि बैंकले सवारी–साधनलाई प्रवाह गरिने कर्जाको व्याजदर ७.१३ प्रतिशत निर्धारण गरेको छ । एनएमबि बैंकको फ्लोटिङ्ग व्याजदर ५–७ वर्षका लागि रहेको छ । यसको प्रोसेसिङ्ग शुल्क ०.५ प्रतिशत रहेको छ । ८.८९ प्रतिशतको फिक्सड व्याजदर ५ वर्षको लागि निर्धारण गरिएको छ । एनएमबि बैंकले ८.९९ प्रतिशतको व्याजदर ७ वर्षको लागि कायम गरेको छ । लक्ष्मी सनराइज बैंकले अटो लोनमा प्रवाह गरिने कर्जाको व्याजदर ७.९९ प्रतिशत कायम गरेको छ । यो फ्लोटिङ्ग व्याजदर ७ वर्षका लागि रहने छ । यसको प्रोसेसिङ्ग शुल्क ०.५ प्रतिशत रहेको छ ।
ग्लोबल आइएमई बैंकले आफ्नो ग्राहकका लागि अटो लोनमा ६.९५ प्रतिशतको व्याजदरमा कर्जा प्रवाह गरेको छ । ग्लोबल आइएमई बैंकले अटो लोनमा दिएको ६.९५ प्रतिशतको व्याजदर नाडा अटो शोको अवधिका लागि निर्धारण गरिएको छ । यसको प्रोसेसिङ्ग शुल्क ०.७५ प्रतिशत रहेको छ । कृषि बिकास बैंकले अटो लोनमा प्रवाह गरिने कर्जाको व्याजदर ६.२३ प्रतिशत कायम गरेको छ । कर्जाको अवधि ७ वर्ष रहेको छ । सेवा शुल्कमा ३३ प्रतिशतसम्मको छुट दिएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्ने योजना ल्याएको ल्याएको छ । त्रैमासिक औसत बैंकले आधार दरमा ०.५ प्रतिशत थप गरी ६.२९ प्रतिशतमा कर्जा दिने लागेको हो । सानिमा बैंकले ५ वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजदरमा अटो लोनको अफर गरेको छ । यसका लागि सेवा शुल्क ०.५० प्रतिशत तोकेको छ ।
हिमालयन बैंकले ८ वर्षसम्मको अवधिका लागि सवारी कर्जाको व्यवस्था गरेको छ । बैंकले ७.५० प्रतिशतको फ्लोटिङ्ग ब्याजदरमा सवारी कर्जा दिन लागेको छ । हिमालयन बैंकले ०.५० प्रतिशत प्रोसेसिङ्ग शुल्क तय गरेको छ ।
के हो फ्लोटिङ्ग र स्थिर ब्याजदर ?
अहिले बैंक तथा वित्तीय संस्थाले फ्लोटिङ्ग र स्थिर ब्याजदर कर्जामा प्रवाहमा लगाइरहेको छ । फ्लोटिङ्ग प्रणाली अनुसार बैंकको आधार ब्याजदरमा प्रिमियम थप गरेर ब्याजदर निर्धारण गरिन्छ । विगत तीन महिनाको आधार दरको औसतका आधारमा यस्तो दर निर्धारण हुन्छ । बैंकको आधार दर घटबढ हुँदा ब्याजदर समेत त्यही अनुसार घटबढ हुने गर्दछ । यस्तो प्रणालीमा जोखिम ग्राहकलाई नै बहन गर्नुपर्ने हुन्छ । ब्याज पनि तुलनात्मक रूपमा सस्तो पर्न आउँदछ ।
स्थिर ब्याजदर भने तुलनात्मक रूपमा महँगो हुन्छ । तर स्थिर ब्याजदर किस्ता अवधिभरिमा घटबढको समस्या हुँदैन । ग्राहकको मासिक किस्ता (ईएमआई) योजना बनाउन सजिलो हुन्छ । सस्तो ब्याजदरको प्रलोभनमा ऋण लिएका समेत पछि ब्याजदर महङ्गिँदै जाँदा ऋण तिर्न नसक्ने अवस्था आउन सक्दछ । स्थिर ब्याजदरले यस्तो समस्या समाधान गर्ने गर्दछ ।
फ्लोटिङ्ग र स्थिर प्रणाली अनुसार बैंकले छुट्टाछुट्टै ब्याजदर निर्धारण गरेका छन् । बैंकले भदौ महिनाको लागि सार्वजनिक ब्याजदर तालिका अनुसार गतिशील ब्याजदरमा अटो लोन दिन चाहनेका लागि हाल न्यूनतम ६.२३ प्रतिशतसम्म तथा स्थिर ब्याजदर तालिका अनुसार ७.४९ प्रतिशतसम्ममा ऋण दिन सक्ने अवस्था रहेको छ । अधिकतम भने फ्लोटिङ्ग ब्याजदर अनुसार ११.६७ प्रतिशत र स्थिर ब्याजदर अनुसार १३.५० प्रतिशतसम्म तिर्नुपर्ने अवस्था रहेको छ ।
प्रतिक्रिया