काठमाडौं- गत आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले सेयर बजारबाट ९ अर्ब ३८ करोड रुपैयाँ माथिको आम्दानी गरेका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले एक वर्षको अवधिमा सेयर बजारबाट ९ अर्ब ३८ करोड ३२ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेका हुन् । बैंकहरुले गरेको आम्दानी अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ५३.६० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुले शेयर बजारबाट ६ अर्ब ११ करोड १ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेका थिए ।
तथ्याङ्क अनुसार सेयर बजारबाट सबैभन्दा धेरै आम्दानी गर्ने बैंकको सूचीमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले ९१ करोड ६८ लाख ९३ हजार रुपैयाँ आम्दानी आर्जन गर्ने सफल भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५७.८५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ५८ करोड ८ लाख ५३ हजार रुपैयाँ सेयर बजारबाट आम्दानी गरेको थियो ।
दोस्रो नम्बरमा नबिल बैंकले ७६ करोड ८१ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.१३ प्रतिशतले बढी हो ।
सेयर बजारको आम्दानीमा सर्वाधिक वृद्धि गर्नेमा भने सरकारी बैंकहरु अगाडी देखिएका छन् । यस अवधिमा कृषि विकास बैंकको सेयर बजारबाट हुने आम्दानी ८८७.१७ प्रतिशतले बढेर ५७ करोड ८४ लाख १६ हजार रुपैयाँ पुगेको छ
समीक्षा अवधिमा सेयर बजारबाट हुने आम्दानी राष्ट्रिय वाणिज्य बैंकको १५३.९७ प्रतिशतले बढेर १२ करोड ९४ लाख ९९ हजार र नेपाल बैंकको ७८.२० प्रतिशतले बढेर २० करोड २१ लाख ८२ हजार रुपैयाँ पुगेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर बजारबाट हुने आम्दानी ६३ प्रतिशतले बढेर ७६ करोड ६० लाख, स्टान्र्डड चार्टड बैंकको ६.०८ प्रतिशतले बढेर ७२ करोड १० लाख रुपैयाँ, हिमालयन बैंकको ४९.९५ प्रतिशतले बढेर ६३ करोड २५ लाख र सानिमा बैंकको १४.६१ प्रतिशतले बढेर ५९ करोड ३३ लाख रुपैयाँ पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै, सेयर बजारबाट प्रभु बैंकले ५४ करोड २६ लाख, एभरेष्ट बैंकले ४९ कोड ९३ लाख, सिद्धार्थ बैंकले ४२ करोड ४१ लाख, कुमारी बैंकले ४० करोड ९३ लाख, एनएमबि बैंकले ३६ करोड ५ लाख, माछापुच्छ्रे बैंकले ३३ करोड २१ लाख, सिटिजन्स बैंकले ३० करोड २७ लाख, नेपाल एसबिआई बैंकले २८ करोड ८ लाख, प्राइम बैंकले २४ करोड ३ लाख र एनआईसी एशिया बैंकले १६ करोड २७ लाख रुपैयाँ आम्दानी गरेका छन् ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सेयर बिक्रीसम्बन्धी व्यवस्था परिमार्जन गरेपछि बैंकहरुको लगानी आम्दानीमा उल्लेखनीय परिवर्तन आएको छ ।
नयाँ प्रावधानअनुसार बैंकहरुले एक वर्ष पूरा भइसकेको लगानीबाट प्राथमिक पुँजीको २० प्रतिशतसम्म सेयर बिक्री गर्न सक्ने सुविधा पाएका छन् ।
प्रतिक्रिया