१० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण गरिँदै

सोमबार, १६ भदौ २०८२, १२ : ५६

काठमाडौं- १० वटा वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण गरिने भएको छ । 

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग भदौ १२ गते सम्झौता गरेको छ ।

कम्पनीले लोन पोर्टफोलियो रिभ्यु स्थलगत निरीक्षणसहित हुने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा १० वाणिज्य ठूला बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्न भनेको थियो । जसअनुसार राष्ट्र बैंकले बोलपत्रमार्फत बंगलादेशी कम्पनी छानेर समझदारी गरिएको हो । कर्जा गुणस्तर परीक्षण गर्ने जिम्मा पाएको हउलादारले सबैभन्दा धेरै स्कोर पाएको थियो । जसअनुसार लेखापरिक्षणको जिम्मा हाउलादारले पाएको हो ।

सम्झौताअनुसार कम्पनीले राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया गरी १० वटै बैंकको कर्जा पोर्टफोलियो परीक्षण गर्नेछ ।

हाउल्याडरले कन्सल्टेन्सी कार्यका लागि भ्याटबाहेक ६२ लाख ५४ हजार ९१२ रुपैयाँ र २ लाख ७१ हजार ६ सय ७९ अमेरिकी डलर रुपैयाँ जनाएको छ ।

कम्पनीले पाँच महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्नुपर्नेछ ।
 

 
सोमबार, १६ भदौ २०८२, १२ : ५६

प्रतिक्रिया