काठमाडौं- नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ सिस्टमेटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) जारी गरेको छ।
केन्द्रीय बैंकले हालैका वर्षहरूमा तीव्र गतिमा वृद्धि हुँदै गएको डिजिटल भुक्तानी प्रणालीलाई ध्यानमा राख्दै, यस फ्रेमवर्कमार्फत प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको स्पष्ट मापदण्ड निर्धारण गर्ने भएको हो।
चालु आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिमा समेत यस्तो फ्रेमवर्क ल्याइने उल्लेख गरिएको थियो। सोही नीति कार्यान्वयनका लागि केन्द्रीय बैंकले यो दस्तावेज सार्वजनिक गरेको हो।
‘प्रणालीगत जोखिम कम गर्न समयबद्धता र फर्छ्यौट निश्चितता महत्वपूर्ण छ’, राष्ट्र बैंकले भनेको छ, ‘भुक्तानी वास्तविक समयमा सञ्चालन गरिनुपर्छ वा नेटिङ व्यवस्थाका लागि उही व्यापारिक दिनभित्र पूरा गरिनुपर्छ। स्पष्ट रुपमा परिभाषित अन्तिमता नियमले लेनदेनको अपरिवर्तनीयताका बारेमा सहभागीहरुलाई आश्वासन प्रदान गर्नुपर्छ।’
प्रणालीगत रूपमा महत्त्वपूर्ण प्रणालीहरूले ठूलो मूल्यका तथा संवेदनशील भुक्तानीहरू समेट्ने भएकाले यस्ता प्रणालीहरू वित्तीय प्रणालीका आधारभूत र संवेदनशील विषय हुन् । नयाँ फ्रेमवर्कले यस्ता भुक्तानी प्रणालीहरूको पहिचान, सञ्चालन र व्यवस्थापनलाई अझ सुदृढ, सुरक्षित र प्रभावकारी बनाउने लक्ष्य राखेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया