काठमाडौं– ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौंको थापाथलीस्थित शोरुम प्रदर्शनकारीको आगजनी र तोडफोडको केन्द्र भएसँगै धेरै शोरुम जलेर नष्ट भएका छन् । यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका कारण थापाथलीस्थित शोरुमका धेरै गाडीका शोरुममा क्षति पुर्याएका हुन् । थापाथलीका अधिकांश शोरुममा क्षति पुगेको छ भने केहीमा आशिंक क्षति भएको छ ।
दशैं र तिहार नजिकिएसँगै खरिद–विक्रीमा जानुपर्ने समयमा भएको तोडफोड र आगजनीले व्यापारमा नकारात्मक प्रभाव पारेसँगै व्यवसायीले भौतिक क्षति खेप्नुपरिरहेको छ । हालसम्म क्षतिको पूर्ण विवरण नआइसकेको भएपनि ‘जेनजी’ प्रदर्शनले काठमाडौंस्थित थापाथलीको गाडी शोरुमलाई आर्थिक रुपमा ठुलै धक्का दिएको छ । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी र तोडफोड हुँदा टाटा, सिजी मोटर्स, महिन्द्रा, सुजुकी, एक्सपेङ, आयोन, स्मार्ट ब्राण्डका शोरुम पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
ती शोरुम सञ्चालनमा आउन समय लागेपनि अन्य केही शोरुमहरु सञ्चालनमा आइसकेका छन् । सवारी–साधनको व्यापारले उचाई लिने समयमा भएको यस क्षतिबाट ती स्थानका व्यवसायी पुनः तग्रिने तयारी गरिरहेको व्यवसायीको भनाई छ । सरकारी निकायअन्र्तगतका मन्त्रालय, विभाग र कार्यालयमा पनि अतुलनीय क्षति पुगेको छ । उक्त निकायका सवारी–साधन र भवनमाथि भएको तोडफोडले पूर्ण र आंशिक क्षति पुगेको छ । सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी भइरहेको छ भने कतिपय सञ्चालनमा पनि आइसकेका छन् ।
जेनजी प्रदर्शन : शोरुम र सवारी–साधनमा के के भए ?
गत भदौ २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा आगलागी, तोडफोड र लुटपाट भएको छ । यसले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेसँगै कुल ग्राह्स्थ्य उत्पादनको आधा हिस्सा ध्वस्त बनाएको छ । अर्थात ६१ खर्ब रुपैयाँको अर्थतन्त्रको करिब आधा भागमा नोक्सानी पुर्याएको हो । यो नोक्सानीमा सवारी–साधन क्षेत्र पनि समावेश छ भने यी क्षेत्र उत्तिकै प्रताढीत बनेका छन् ।
नयाँ सवारी–साधन किनबेच तथा प्रदर्शनीका लागि प्रमुख क्षेत्र मानिने काठमाडौंको थापाथली ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडका लागि प्रमुख क्रिडास्थल बन्न पुग्यो । उनीहरुले गरेको आगजनीको क्रममा सिजी मोटर्स, टाटा, महिन्द्रा, जीएससी आयोन, एक्सपेङ, स्मार्ट, सुजुकी र हुण्डाईका गाडीहरु जलाइएका हुन् । यी शोरुममा ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडको ठुलो असर देखिएको छ ।
‘हुण्डाईको ५–६ वटा गाडीमा क्षति पुगेको छ । १–२ वटा गाडी पूर्ण रुपमा जलेर नष्ट भएका छन् । भौतिक सम्पत्तिमाथि पनि क्षति उत्तिकै छ । प्रदर्शनका क्रममा भएको क्षतिको क्याल्कुलेसन (मूल्यांकन) भइसकेको छैन ।’, हुण्डाईका महाप्रबन्धक दिपक थपालियाले आजको अर्थलाई भने, ‘अहिले हाम्रो ध्यान प्रदर्शनका क्रममा ज्यान गुमाउने मृतकप्रति सहयोग गर्ने तर्फ छ । भौतिक हिसाबले विस्तारै उठौला । मानसिक र भावनात्मक तरिकाले ठिक हुने तर्फ हाम्रो ध्यान छ । रिकभरीसँगै चोटमा मलहम लगाउँदै ग्राहकलाई पुनः सेवा दिने तयारीमा छौं ।’
‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगलागी र तोडफोडको सबैभन्दा ठुलो क्षति चौधरी ग्रुपअन्तर्गतको सिजी मोटर्सले व्यहोर्यो । काठमाडौंको थापाथलीस्थित सिजी मोटर्सको भवनमा धेरै ब्राण्डका सवारी–साधन राखिएका छन् । उक्त भवनमा सिजीका १६ वटा गाडी जलेर नष्ट भएका छन् । नेपालका लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को थापाथलीस्थित शोरुममा ठुलो क्षति पुगेको छ । थापाथलीमा टाटाको शोरुममा ४ वटा विद्युतीय कार जलेर नष्ट भएका छन् । थापाथलीमा महिन्द्राको शोरुममा ५ वटा गाडीमा आंशिक वा पूर्ण क्षति पुगेको छ ।
‘प्रदर्शनको क्रममा एमजीको शोरुम जोगिएको छ । एमजीको शोरुममा कार्यरत सुरक्षागार्डले प्रदर्शनकारीलाई सुझबुझका साथ सम्झाएर पठाउँदा शोरुम जोगिएको हो ।’, पारामाउन्ट मोटर्स प्रा.लि. (एमजी) का प्रबन्धक निर्देशक सुनिल क्षेत्रीले भने, ‘प्रदर्शनमा खासै क्षति भएन । आइतबारबाट हामीले (एमजीले) शोरुम सञ्चालनमा ल्याइसकेका छौं ।’
काठमाडौंस्थित थापाथलीमा हुण्डाई, टाटा, सुजुकी, निशान, किया, स्कोडा, फोर्ड, नेटा, एमजी, आयोन, एक्सपेङ, स्मार्ट, महिन्द्रा, लिपमोटर लगायतका सवारी–साधनका शोरुम रहेका छन् ।
सरकारी सवारी साधनमा कता भयो क्षति र के भइरहेको छ ?
‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले अर्थ मन्त्रालयका १६ वटा चारपांग्रे सवारी साधन, ३६ वटा मोटरसाइकल र १८ वटा स्कुटर पूर्ण रुपमा क्षति भएका छन् । सवारी साधनमा क्षति भएका कार्यालयहरुका लागि अत्यावश्यक सवारी साधन अन्तर कार्यालयहरुसँग समन्वय गरी आन्तरिक रुपमै व्यवस्थापन गर्ने प्रबन्ध सम्बन्धित विभागका महानिर्देशकबाट मिलाइने भएको छ । अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र मातहतका विभाग तथा कार्यालयहरुमा पुगेको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।
अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग लगायतका केन्द्रिय निकायहरुको प्रमुख भौतिक संरचना, बजेट, भुक्तानी र राजस्व व्यवस्थापनसँग सम्बन्धित सूचना प्रविधि प्रणालीहरु सुरक्षित रहेका छन् । २०८२ साल भदौ २३ गतेदेखि महालेखा नियन्त्रक कार्यालयबाट रोक्का रहेको भुक्तानी प्रणाली पनि भदौ २९ गतेबाट सुचारु भइसकेको छ । भन्सार कार्यालयहरुबाट भदौ २६ गतेदेखि सेवा प्रवाह सुचारु गरेका छन् । आन्तरिक राजस्व विभागले अनलाईन सेवा निरन्तर सुचारु गरिरहेको छ ।
अर्थ मन्त्रालय तथा मातहतका अधिकांश कार्यालयहरुबाट प्रवाह हुने भौतिक सेवालाई २०८२ भदौ २९ गतेबाट नै सुचारु गरिएको हो । ‘जेनजी’ प्रदर्शनका क्रममा आन्तरिक राजस्व विभागका दमक, ईटहरी, विराटनगर, लाहन, जनकपुर, सिमरा, हेटौडा, विरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, दाङ्ग, धनगढी, डडेल्धुरा र पोखरास्थित आन्तरिक राजस्व कार्यालयहरु पूर्ण रुपमा क्षति भएका छन् ।
कृष्णनगर र धुलिखेलस्थित आन्तरिक राजस्व कार्यालयहरु एवं ईलाम र सिन्धुली जिल्लास्थित करदाता सेवा कार्यालयहरु पूर्ण रुपमा क्षति पुगेको छ । भन्सार विभागका मेची, भद्रपुर, कैलाली र जनकपुर भन्सार कार्यालयहरु पूर्ण रुपमा क्षति भएका छन् । विराटनगर, नेपालगञ्ज, भैरहवा र ठाँडी भन्सार कार्यालयहरुमा आंशिक रुपमा क्षति भएका छन् । महालेखा नियन्त्रक कार्यालयका काठमाडौं उपत्यकाका ३ र उपत्यका बाहिरका ४ गरी जम्मा ७ वटा कोष तथा नियन्त्रक कार्यालयको भौतिक संरचनामा क्षति पुगेको छ ।
प्रतिक्रिया