दाङ– तुुलसीपुर उपमहानगरपालिकाको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् ।। जलेका सवारी साधनको थुप्रो, भाँचिएका टेबल–कुर्सी र खरानीबीच त्रिपाल टाँगेर नगरपालिकाको दैनिकी चलिरहेको छ । जनप्रतिनिधि र कर्मचारीहरू पालमुनि राखिएका टेबुल–कुर्सीमा बसेर काम गरिरहेका छन् ।
जेनजी आन्दोलनका क्रममा नगरपालिकाको भवनमा आगजनी भई सम्पूर्ण संरचना ध्वस्त भएपछि दैनिक सेवा प्रभावित भएको थियो। तर सेवाग्राहीलाई सहजता दिन पालमुनिबाटै सेवा सुरु गरिएको नगर प्रमुख टिकाराम खडकाले जानकारी दिए। उनका अनुसार “नागरिकको काम नरोकिने गरी अत्यावश्यक सेवा तुरुन्तै पालमुनिबाट सञ्चालन गरिएको हो।”नगर प्रमुख खडकाले आन्दोलनले आफूलाई गम्भीर पाठ दिएको बताए ।
उनले भने, “केन्द्रमा भएका राजनीतिक गतिविधिको असर स्थानीय तहसम्म आइपुग्ने रहेछ । भ्रष्टाचार अन्त्य गर्ने आन्दोलनको म मूलतः समर्थन गर्छु। नगरपालिकामा पनि म निर्वाचित भएदेखि नै भ्रष्टाचार शून्य बनाउने अभियानमा छु ।”
नगर प्रमुख खड्काका अनुसार उपमहानगरपालिकाले निर्माण गरेको तुलसी ट्रेड टावरमा आगलागी नभए पनि ढुङ्गामुढा र तोडफोडका कारण भवन प्रयोग अयोग्य भएको छ। कार्यालय र वडास्तरीय संरचनामा ठूलो क्षति पुगेको भए पनि सेवामा बाधा नपरोस् भन्ने उद्देश्यले पालमुनिबाट काम अघि बढाइएको हो।
प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेका अनुसार हाल सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा, नागरिकता सिफारिसलगायत अत्यावश्यक काम सुरु गरिएको छ। अन्य नियमित सेवा पनि स्रोत–साधन अनुसार विस्तार हुँदै जाने उनको भनाइ छ।
आन्दोलनका क्रममा वडा ६ र १६ मा तोडफोड, वडा ८ र १८ मा आगजनी भएको थियो। यसबाहेक मालपोत, आन्तरिक राजस्व, इलाका प्रशासन, कारागार, यातायात व्यवस्था, उच्च अदालत, सिँचाइ डिभिजन, भू–जलाधार संरक्षणलगायतका कार्यालयहरूमा समेत क्षति पुगेको छ।
यस्तै, उपमहानगरपालिकाले सर्वपक्षीय छलफलको आयोजना गरेर कार्यालय सञ्चालनको वैकल्पिक उपायबारे सुझाव संकलन गरेको छ। वडाध्यक्ष र सचिवहरूलाई उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता दिन निर्देशन दिइएको छ।
प्रतिक्रिया