काठमाडौं– आफू नेतृत्वको मन्त्रिमण्डललाई बिस्तार गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले सोमबार पाँच मन्त्रीलाई शपथ गराएकी छिन् ।
जसअनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा वरिष्ठ युवा पत्रकार जगदीश खरेल, कानुन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. संगीता मिश्रा, कृषिमन्त्री डा. मदन परियार र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रहेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेल यसअघि इमेज च्यानल टेलिभिजनका समाचार प्रमुख हुन् । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका उनी प्रखर अन्तर्वाताकारका रुपमा चिनिन्छन ।
यसैगरी, प्रम कार्कीले नियुक्त गरेकी सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हा पनि स्वच्छ छविका मानिन्छन् । उनलाई तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री बनाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. मिश्रा स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव हुन् । यस्तै, कृषिमन्त्री बनेका डा. मदन परियार समता फाउन्डेसनका अध्यक्ष हुन् । वरिष्ठ जलवायु तथा कृषिविज्ञ डा. परियारले यसअघि संविधानसभाको राज्य पुनर्संरचना उच्चस्तरीय आयोगको संयोजक रहेर काम गरिसकेका छन् । उनी अध्यक्ष रहेको समता फाउन्डेसन २००९ मा स्थापना भएको हो ।
यसले जातीय भेदभावमुक्त समाज निर्माणमा काम गर्दैआएको छ । यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्याउने पहलका लागि उनले प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार पाइसकेका छन् ।
रोचक पक्ष त के भने सञ्चार तथा सूचना प्रविधिमन्त्री खरेल अहिले ईमेज च्यानलका आफ्ना पूर्व हाकिमद्वयभन्दा माथिल्लो पदमा पुगेका छन् । उनले समाचार प्रमुख डा. महेन्द्र विष्ट र लक्ष्मण हुमागाईंको मातहतमा रहेर काम गरेका हुन् ।
तर, यतिबेला डा. विष्ट सञ्चार तथा सूचना प्रविधि मन्त्रलयअन्तर्गतको सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिका अध्यक्ष छन् भने हुमागाईं विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा दोहोरिएका छन् ।
विष्टलाई केपी ओली नेतृत्वको सरकारले गत पुस १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । उनी नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पनि हुन् । डा. विष्टले नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारी समेत सम्हालीसकेका छन् ।
उता अघिल्लो मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख ५ गते सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको जस्तो गर्दै हुमागाईं उक्त पदमा पुनः नियुक्त दिएको बताइन्छ । यसअघि पनि हुमागाईंले उक्त बोर्डको चार वर्ष नेतृत्व सम्हालीसकेका छन् । हुमागाईं केही वर्षअघि नेपाल टेलिभिजनको महाप्रबन्धक पनि बनिसकेका छन् ।
यही परिवेशबीच सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा खरेलको आगमनलाई विष्ट र हुमागाईंले अभिशापको रुपमा लिएका छन् । निकट स्रोतहरूका अनुसार, अब उनीहरूका लागि त्यो पद ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छाबाबुको अनुहार’ मात्रै होइन, ‘फलामको चिउरा’ नै साबित भएको छ । अहिले यो धेरैको कौतुहलताको विषय बनेको छ– बरिष्ठ पत्रकारद्वयले आफ्नो पदबाट राजीनामा देलान् वा अघिल्लो सरकारले नियुक्ति गरेको त हो नि भनेर असल, आज्ञाकारी कारिन्दा बनेर पदमा झुण्डिरहलान, काम गरिरहलान् ? त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया