काठमाडौं– नवरात्र अर्थात घटस्थापना सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पछिल्लो २४ घण्टामा ४३ हजार नाघेको छ । दशैं मनाउनका लागि विभिन्न जिल्लामा जानका लागि काठमाडौं उपत्यका छाड्ने नागरिकको संख्या ४३ हजार १ सय २४ पुगेको हो । काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप निरन्तर बढिरहेको छ भने अझै बढ्दै जाने छ ।
सार्वजनिक सवारी साधनमा २०८२ साल असोज ६ गतेदेखि रुट परमिट (अनुमति) पनि खुल्ला गरिएको छ । रुट परमिट खुल्ला गरेसँगै मुलुकभरका सार्वजनिक यातायातलाई चाडपर्वमा सहज तरिकाले सञ्चालन गर्न पाउने भएका हुन् । ‘जेनजी’ आन्दोलन, बाढी–पहिरोका कारणले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा कमी देखिएपनि विभिन्न स्थानमा भएको सडकको अवरोध हटेसँगै पुनः चाप बढ्ने भनाई छ ।
कति नागरिक बाहिरिए ?
२०८२ साल असोज ६ गते नवरात्र सुरु अर्थात घटस्थापनासँगै बडादशैं सुरु भएको छ । बडादशैंको पहिलो दिनको सुरुवातसँगै काठमाडौं उपत्यका छाड्ने नागरिकको संख्या ह्वात्तै बढेको छ ।
‘घटस्थापना सुरु भएको पछिल्लो २४ घण्टामा ४३ हजार १ सय २४ जना नागरिकले काठमाडौं उपत्यका छाडेका छन् ।’, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता अथवा प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले आजको अर्थलाई भने, ‘नागढुंगा, फपिङ्ग, विपि राजमार्ग, साँगा, बालाजु हुँदै ती यात्रुहरु काठमाडौं उपत्यकाबाट बाहिरिएका हुन् ।’
त्यसैगरि २८ हजार ८ सय ९६ जना नागरिक काठमाडौं उपत्यकामा प्रवेश गरेका छन् । अघिल्लो वर्षको दशैंको यही समय (घटस्थापना सुरु भएको पछिल्लो २४ घण्टा) मा ४० हजार हाराहारी नागरिकले काठमाडौं उपत्यका छाडेका थिए । गएको वर्षको घटस्थापना सुरु भएको पछिल्लो २४ घण्टाको तुलानामा यो वर्षको सोहि समयमा काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्यामा १७ हजार हाराहारीले कमी आएको छ ।
२०८२ साल भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनले श्रृजना गरेको परिस्थितिका कारण काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्यामा कमी देखिएको हो । साथै मुलुकका विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारणले समेत हाल यात्रुको चापमा पहिलेको जस्तो बृद्धि नदेखिएको हो ।
दशैं मनाउनका लागि नै भनेर आफ्नो घर जानका लागि भन्दै हालसम्म ५–६ लाख नागरिकले काठमाठौँ उपत्यका छाडिसकेका छन् । काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या थप ७–८ लाखले अझै बढ्ने अनुमान छ । अब आउने (२०८२ साल असोज ११ देखि १३ गतेसम्म) यसरी नै काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्यामा चाप बढ्ने छ ।
‘सार्वजनिक सवारी साधनमा २०८२ साल असोज ६ गतेदेखि रुट परमिट (अनुमति) खुल्ला गरिएको छ ।’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए, ‘रुट परमिट खुल्ला भएसँगै मुलुकभरका सार्वजनिक यातायात चाडपर्वमा सहज तरिकाले सञ्चालन हुने छन् ।’
रुट परमिट खुल्ला भएसँगै अब रुट बिना सार्वजनिक यातायात गन्तव्यस्थलसम्म जान पाउने भएका छन् । रुट परमिट खुल्ला २०८२ साल असोज २२ गतेसम्म कायम रहने छ । ‘जेनजी’ प्रदर्शनका कारण अग्रिम टिकट बुकिङ्गको समयतालिका विग्रिएको छ । अब ३–४ दिन अघि टिकट बुकिङ्ग गरेर जान सकिने भएको छ ।
प्रस्थान अघि अर्थात जानुभन्दा २–४ दिन अघि टिकट लिएर पनि जान सकिने भएको हो । यातायात व्यवसायी राष्ट्रिय महासंघ, सडक विभाग, यातायात मजदुर महासंघ, सम्वन्धित मन्त्रालय, ट्राफिक लगायतसँग भएको समन्वयले समयमा राजधानी लगायत विभिन्न स्थानमा यात्रुलाई पुर्याउन आव्हान समेत गरिएको छ ।
बाटो अवरुद्ध– २०८२ साल असोज ६ गतेसम्म
दशैंका मनाउन घर जानका लागि काठमाडौं उपत्यका छाड्ने यात्रुका लागि मुलुकका विभिन्न स्थानमा गएको बाढी र पहिरो प्रमुख समस्या बनिरहेको छ । बाढी र पहिरोले लामो समयसम्म बाटो अबरुद्ध हुँदा यातायात निर्वाध रुपले सञ्चालन हुन पाएको छैन भने यात्रु पनि आफ्नो गन्तव्यमा पुग्न सकिरहेका छैनन् । प्रमुख स्थानको अवरोध हटाउने कार्य निरन्तर रुपमा भइरहेको छ । प्रमुख स्थानको अवरोध हटेसँगै यातायात पुनः सञ्चालनमा आएर दशैंका लागि हिडेका र हिड्न लागेका यात्रु आफ्नो उचित गन्तव्यमा पुग्ने छन् ।
वर्षा र बाढीपहिरोको कारण २०८२ साल असोज ६ गते देशका विभिन्न पाँचवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । त्यसैगरि अन्य सातवटा राजमार्गमा पनि एकतर्फी मात्रै यातायात चलेका छन् । २०८२ साल असोज ६ गते कोसी राजमार्गको भोटखोलामा सडक पूर्ण रूपमा अवरुद्ध छ । यो सडक लामो समयदेखि अवरुद्ध अवस्थामा छ ।
त्यसैगरि कोसी राजमार्गको मकालु गाउँपालिका–३ को एकुवामा पनि सडक अवरुद्ध छ । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल र चीन जोड्ने मितेरी पुलमा सडक अवरुद्ध छ । त्यसैगरि अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीमा पनि पहिरो खसेर सडक अवरुद्ध छ । यहाँ पनि लामो सयदेखि सडक अवरुद्ध हुँदै आएको छ ।
त्यसैगरि रसुवाको गल्छी–त्रिशूली–मैलुङ स्याफ्रु सडक, नारायणगढ मुग्लिन सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला, बागलुङको कालीगण्डकी करिडोर, नलपरासी पूर्वमा पर्ने कालीगण्डकी करिडोर, पूर्वपश्चिम राजमार्ग, बागलुङको कालीगण्डकी करिडोर र रुकुम पश्चिमको मध्यपहाडी लोकमार्गमा पनि अहिले एकफर्ती गाडी चलिरहेका छन् ।
ती ठाउँमा पहिरो र कटानको कारण सडक एकतर्फी भएको हो । दसैँको बेला निर्वाध रूपमा सवारी सञ्चालन नहुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
प्रतिक्रिया