काठमाडौं–नेपालको सार्वजनिक ऋणभार २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिना (भदौ मसान्त) सम्ममा यो आँकडा पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाएको हो । गत असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।
भदौ मसान्तसम्म कुल ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ८१ अर्ब ८२ करोड र बाह्य ऋण १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को आधारमा सार्वजनिक ऋण ४४.९२ प्रतिशत पुगेको छ । यसमा आन्तरिक ऋण २०.९९ प्रतिशत र बाह्य ऋण २३.९३ प्रतिशत रहेको छ । नेपाली मुद्रा कमजोर हुँदा बाह्य ऋणमाथि ठूलो भार थपिएको छ ।
भदौमा विनिमय दरमा आएको उतारचढावले मात्रै ५५ अर्ब २३ करोड रुपैयाँ दायित्व थपिएको छ । सरकारले दुई महिनामा ७९ अर्ब १५ करोड रुपैयाँ नयाँ ऋण उठाएको छ । यसमध्ये ७० अर्ब आन्तरिक ऋण र ९ अर्ब १५ करोड बाह्य ऋण प्राप्त भएको छ । चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ ।
सोही अवधिमा सरकारले ६५ अर्ब ७ करोड रुपैयाँ ऋण भुक्तानी पनि गरेको छ । यसमा आन्तरिक ऋणतर्फ ५६ अर्ब ४० करोड र बाह्य ऋणतर्फ ८ अर्ब ६७ करोड साँवा भुक्तानी गरिएको छ । ब्याजतर्फ भने आन्तरिक ऋणमा ११ अर्ब २७ करोड र बाह्य ऋणमा २ अर्ब ३२ करोड खर्च भएको छ ।
सार्वजनिक ऋण सेवामा यस वर्ष ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा भदौ मसान्तसम्म ७८ अर्ब ६७ करोड रुपैयाँ खर्च भइसकेको छ ।
प्रतिक्रिया