काठमाडौँ–बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाल सरकारका सहसचिव शर्मालाई प्राधिकरणको अध्यक्ष बनाउने निर्णय गरिएको हो । नवनियुक्त अध्यक्ष शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसँग शपथ लिएका छन् ।
उनले आजै पदबहाली गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ । अहिले बिमा प्राधिकरणको अध्यक्षको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । यसअघि नियुक्त भएका शरद ओझालाई बर्खास्त गर्ने निर्णय गरेसँगै उनले अदालतमा रिट निवेदन दिएका थिए । उक्त रिटउपर सुनुवाइ गर्दै अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्ने आदेश दिएको थियो ।
नयाँ नियुक्तिसँगै एक वर्षमा बिमा प्राधिकरणले पाँच जना अध्यक्ष पाएको छ । गत तिहार अघिसम्म सूर्यप्रसाद सिलवाल प्राधिकरणको अध्यक्ष थिए । उमेर विवादमा छानबिनमा तानिएपछि उनको ठाउँमा मदन दाहाल अध्यक्ष बनेका थिए । पछि शरद ओझाको नियुक्ति भएको थियो ।
ओझा छानबिनमा परेपछि पोखरेल अध्यक्ष बनेका थिए भने अहिले शर्मा अध्यक्ष बनेका हुन् ।
प्रतिक्रिया