एमसीए–नेपालद्वारा ३१५ किमि विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माण सम्झौता

शुक्रबार, १० असोज २०८२, १७ : २०

काठमाडौँ–मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ । यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको हो ।

आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौँ जिल्लामा निर्माणाधीन लप्सिफेदी सबस्टेशनबाट नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेशन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेशनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसीए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको रहेको छ ।

यस सम्झौता अन्तर्गत उक्त ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालन लगायतका काम गरिनेछ । एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले आज एक समारोहबिच एमसीसी र एमसीए–नेपालका पदाधिकारीहरूको समुपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

एमसीए–नेपालले नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेशनदेखि तनहुँ जिल्लामा निर्माणाधीन नयाँ दमौली सबस्टेशनसम्मको, उक्त सबस्टेशनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन नयाँ बुटवल सबस्टेशनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यस अघि नै गरिसकेको छ ।

यसका अतिरिक्त रातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन र नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ । एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रबाट लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि प्रदान गरिएको ऐतिहासिक सहायता हो ।

विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तर आवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्य एमसीसी नेपाल कम्प्याक्टले लिएको छ ।
 

शुक्रबार, १० असोज २०८२, १७ : २०

प्रतिक्रिया