काठमाडौं- नेपाली बजारमा नयाँ ईभी ह्याचब्याक दसैँपछि सार्वजनिक हुने भएको छ ।
नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले जीएसी एवोन युटी ईभी भित्र्याउने भएको हो ।
गत भदौ महिनामा सम्पन्न नाडा अटो शो २०२५ मा प्रदर्शन गर्ने तयारीका साथ आवश्यक कार्य गरिरहेको भए पनि चीन र नेपालको सिमामा भएको प्राकृतिक प्रकोपका कारण यो गाडी नेपाल आउन ढिलाई भएको थियो ।
एवोन युटी ईभीलाई कम्पनीले एउटा स्टाइलिस र इन्टेलिजेन्ट नेक्स्ट–जेन अर्वन ईभी क्रसओभर भनेको छ । यसको बाहिरी बनावटबाटै सडकमा यसको पहिचान गर्न सकिन्छ । यसमा विश्वमै पहिलो पटक आईब्रो अर्थात आँखीभौ स्टाइलको हेडलाइट छ । त्यसैगरी पछिल्लो भागमा मिलानको आर्टिस्टिक ट्रेन्डबाट प्रभावित स्लिक फास्टब्याक डिजाइन छ । हेडलाइटको तलतिर प्लेफुल पिक्सेल ग्राफिक लाइटले पनि यसलाई फरक देखाउछ । साइडबाट हेर्दा पनि बोल्ड डिजाइन र कन्ट्रास्ट देखिन्छ ।
यसमा भएको सफ्ट र स्पेसियस इन्टेरियर अर्को आकर्षण हो । यसको एक्स्ट्रा लङ २,७५० एमएमको ह्विलबेस, फुल्ली फ्ल्याट फोल्डेबल सिट, मल्टी लेयर ट्रंक डिजाइन लगायतले यात्रुलाई सहजता प्रदान गर्छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८५० एमएम र उचाइ १५७५ एमएम छ । त्यसैगरी यसमा १७ इन्चको अलोय ह्विल रहेको छ ।
यसमा एड्भान्स्ड क्लाइमेट सिस्टम छ । यसले ड्युअल लेयर एयर कन्डिसनिङ र हिट पम्पको काम गर्न सक्छ । यसकारण ३० मिनेटमै ३० डिग्रीले तापक्रम कम गर्न र २० मिनेटमै ४० डिग्री बढाउन सक्छ । त्यसैगरी यसमा भएको १४।६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ८।८ इन्चको डिजितल इन्स्ट्रयुमेन्ट क्लस्टर अर्को आकर्षण हो ।
यसमा ४४ किलोवाट आवरको एलएफपी ब्याट्री छ । सो ब्याट्रीले सुरक्षाका लागि नेल पेनेट्रेसन टेस्ट पार गरिसकेको छ । सिंगल चार्जमा यसले ३४० किलोमिटरको रेन्ज दिने बताइएको छ । ब्याट्रीलाई २४ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा ९९ किलोवाटको मोटर छ ।
जीएसी एवोन युटी ईभीको मूल्य नेपाली बजारमा ३५ लाख रुपैयाँ हाराहारी हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया