आज देशभरका यी राजमार्ग अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

शुक्रबार, १७ असोज २०८२, ०८ : १२

काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

 नेपाल प्रहरीले आज बिहान ७ बजेसम्मको अवस्थाबारे दिएको जानकारीअनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग अझै अवरुद्ध छ।

संखुवासभाको मकालु गाउँपालिका–३, एकुवामा पनि लामो समयदेखि अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रुपमा अवरुद्ध छ।

सोही गाउँपालिकामा आज बिहानदेखि पहिरोका कारण पासाङ ल्हामु सडक खण्ड बन्द भएको छ।

सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका–४, चारकिलो नजिकै आज बिहान गएको पहिरोले अरनिको राजमार्गमा पूर्ण अवरोध भएको छ। नेपाल प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अद्यावधिक जानकारी लिन आग्रह गरेको छ।

शुक्रबार, १७ असोज २०८२, ०८ : १२

प्रतिक्रिया