काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताएकी छिन् ।
देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल गरेकी छिन् ।
“हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ । सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन् । राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्, आवतजावत नगर्नुस्, सवारी नचलाउनुस्, जोखिमको पूर्वआकलन गरेर सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र काम गर्नुस्”, उनले भनिन् ।
प्रधानमन्त्री कार्कीले जोखिमकै कारण सरकारले आइतबार र सोमबार सरकारले देशभर सार्वजनिक बिदा दिएको पनि उल्लेख गर्दै प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सूचनाअनुसार नै काम गर्न सबैलाई अनुरोध गरिन् ।
सम्बोधनको पूर्णपाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु देशभर भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने सम्भावना छ । हामी बाढी, पहिरो, डुबान र कटानको उच्च जोखिममा छौँ र जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदी नालाहरुको बहाव उच्च सतर्कताको तहमा छ र निरन्तर वर्षाका कारण खतराको तहमा जान सक्ने सम्भावना अधिक छ। धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ ।
यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन् । यस बखत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरु आपतकालीन सेवाहरु नागरिकहरुलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरु सुरक्षित गर्न चौबीसै घण्टा तयार अवस्थामा रहेका छन् ।
हामीले सबै उपलब्ध स्रोतहरु परिचालन गरेका छौँ र सबै आम नागरिक, राष्ट्रिय र स्थानीय निकायहरुसँग मिलेर काम गरिरहेका छौँ । हामी महत्वपूर्ण राजमार्ग तथा अन्य अत्यावश्यक पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेका छौँ र अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्गहरु पुनः खोल्नलाई प्राथमिकता दिनेछौँ । हाम्रा टोलीहरुले काम गरिरहेको बेला म सबैलाई प्रत्यक्ष अपिल गर्दछु । तपाईं जहाँ जुन अवस्थामा हुनुहुन्छ, सुरक्षित रहनुहोस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस् । अत्यावश्यक नभएसम्म यात्रा नगर्नुहोस् । बाढीको पानीमा वा पहिरोमा गाडी नचलाउनुहोस् वा आवातजावत नगर्नुहोस् । तीव्र बहाव, डुबान र अस्थिर सडकहरुको खतरा उच्च छ ।
यदि तपाईं डुबानमा पर्न सक्ने क्षेत्र वा पहिरो जोखिमयुक्त भूभागमा हुनुहुन्छ भने ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउनुहोस् । कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर मात्र गर्नुहोस । प्रहरी र अन्य विपद व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक चेतावनी र सूचनाहरुलाई ध्यान दिनुहोस् । तपाईंहरुको सुरक्षा नै हाम्रो सरोपरी चिन्ता हो । आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्नुहोस् । सम्भाव्य विपदको जोखिमको आकलन गर्दै सरकारले मिति २०८२ असोज १९ र २० गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
हामी तपाईहरुको चिन्ता र कठिनाइलाई बुझ्छौँ । म प्रष्ट पार्न चाहन्छु तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोतहरु आज तपाईंहरुसँग छन् । हामी यो जोखिमलाई मिलेर पार गर्नेछौँ । हामी नियमित रुपमा अद्यावधिक सूचना तथा जानकारीहरु प्रसारण गरिरहनेछौँ । अन्तमा यहाँहरुसँग मेरो अनुरोध छ, यहाँहरु सुरक्षित र सावधानीपूर्वक रहनुहोस् । धन्यवाद ।
प्रतिक्रिया