जेनजी आन्दोलनमा संलग्न भएको आरोपमा भुम्लु गाउँपालिकाका चालक बर्खास्त, राजनीतिक विवाद तीव्र

मंगलबार, २१ असोज २०८२, १६ : ४१

काठमाडौं- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा करार सेवामा कार्यरत सवारी चालक निशान उप्रेतीलाई सेवाबाट बर्खास्त गर्ने निर्णयपछि पालिकाभित्र राजनीतिक विवाद चुलिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले असोज १२ गते एक पत्र जारी गरी उप्रेतीलाई उक्त दिनदेखि लागू हुनेगरि सेवाबाट हटाएका थिए ।

भदौ २४ गते भएको जेनजी आन्दोलनमा संलग्नता रहेको आरोपमा सवारी चालक उप्रेतीलाई अनुशासन विपरीत कार्य गरेको भन्दै बर्खास्त गरिएको थियो । तर, स्थानीय जनप्रतिनिधिहरूबीच उक्त विषयमा मतभेद बढेको छ।

पालिका अध्यक्ष प्रेमबहादुर भुजेलले नहटाउन मौखिक निर्देशन दिएका भएता पनि कार्यपालिका बैठकको बहुमतको निर्णयमा उक्त निर्णय पारित गरिएको पालिका स्रोतले जनाएको छ।

भुम्लु गाउँपालिका–१ सापिङका वडा अध्यक्ष लेखनाथ श्रेष्ठले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै राजीनामा समेतको चेतावनी दिएका छन्।

श्रेष्ठले फेसबुकमार्फत् भनेका छन्, “गाउँपालिकामा एमाले र काँग्रेसका जनप्रतिनिधिहरूले बहुमतको दम्भ देखाएर निर्णय लिएका छन्। भोलिको कार्यपालिका बैठकमा निर्णय सच्याइएन भने, म सापिङका जनताको सल्लाहमा वडा अध्यक्ष पदबाट राजीनामा दिँदै प्रतिकारमा उत्रिनेछु।”

उनका अनुसार, सवारी चालक उप्रेतीलाई हटाउने निर्णय निष्पक्ष नभई राजनीतिक मनोवृत्तिका कारण गरिएको हो। “जेन–जी पुस्ताको आन्दोलनबाट देशमा खर्बौँको क्षति भइ सामन्ती निरङ्कुशता ढलेको अवस्थामा, त्यही आन्दोलनमा सहभागिता जनायो भनेर कुनै कर्मचारीलाई सजाय दिनु गलत हो।”, श्रेष्ठले थप भनेका छन्, “देशका पुरै प्रशासन खरानी भएको बेलामा एउटा सवारी चालकलाइ बर्खास्ती गरि बहादुरीता देखाउनु भनेको बहुमतको घमण्ड र राजनीतिक प्रतिशोध बाहेक अरु हुन सक्दैन ।”

गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष लोक बहादुर कुँवरले भने उप्रेतीलाई हटाउने यो निर्णयमा त्रुटि भएको बताएका छन् । यसका लागि कार्यपालिका बैठकले कर्मचारीकै नेतृत्वमा छानबिन समिति गठन गरेको जानकारी दिँदै प्रवक्ता कुँवरले छानबिन समिति भने हालका लागि गोप्य राखिएको जानकारी दिए ।  

 
 
 
 
 
 
मंगलबार, २१ असोज २०८२, १६ : ४१

प्रतिक्रिया