काठमाडौं- हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।
हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर ११८ रुपैयाँ ८८ पैसामा किनबेचका लागि हबिब र नेशनल लाइफबीच सम्झौता भएको थियो । दुवै पक्षबीच भएको सम्झौता अनुसार कारोबार गर्न राष्ट्र बैंकले स्वीकृति दिएको बैंकले जनाएको छ।
बैंकले अब हबिब बैंकको शेयर नेशनल लाइफलाइ हस्तान्तरणको प्रक्रिया अघि तयारी समेत गरेको छ ।बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) को प्रावधानअनुसार बैंक, वित्तीय संस्था सञ्चालनको ५ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न पाइँदैन ।
त्यसपछि पनि संस्थापक शेयर संस्थापक समूहमै रहने गरी विक्री नभएको अवस्थामा मात्र बाहिर बिक्री गर्न पाउने प्रावधान छ । यस्तै २ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका कम्पनी तथा संगठित संस्थाको सेयर बिक्रीका लागि राष्ट्र बैंकको स्वीकृति आवश्यक पर्छ ।
हिमालयन बैंकले गत जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिबको नाममा संस्थापक सेयर खररदका लागि संस्थापक सेयरधनीबाट प्रस्ताव आह्वान गरेको थियो ।
प्रतिक्रिया