अमेरिकी राष्ट्रपति ट्रम्प इजरेलमा, सर्वोच्च नागरिक पदक दिइने घोषणा

सोमबार, २७ असोज २०८२, १३ : ३९

काठमाडौं - हमासले बन्धकहरू मुक्त गर्न थालेकै बेला संयुक्त राज्य अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्प इजरेल पुगेका छन्। इजरेल जानुअघि उनले गाजाको युद्ध समाप्त भएको बताएका थिए।

सङ्घर्षविराम सम्झौताअनुरूप हमासले सबै इजरेली बन्धकहरूलाई हस्तान्तरण गर्न थालेको छ। पहिलो खेपमा मुक्त भएका सात इजरेली नागरिकहरू इजरेली सीमाभित्र पुगिसकेका छन्।

उक्त प्यालेस्टिनी समूहसँग ४८ बन्धकहरू फिर्ता गर्न स्थानीय समयानुसार सोमवार दिउँसो १२ बजेसम्मको समय छ। ती ४८ मध्ये २० जना जीवितै रहेको ठानिएको छ। बदलामा इजरेलले २५० जना प्यालेस्टिनी बन्दीहरू र हिरासतमा लिइएका १,७०० भन्दा धेरैलाई रिहा गर्ने बताइएको छ।
इजरेली प्रधानमन्त्रीसँग डोनल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति ट्रम्प इजरेलमा, सर्वोच्च नागरिक पदक दिइने घोषणा
इजरेल जानका निम्ति एअर फोर्स वनमा चढ्नुअघि ट्रम्पले सञ्चारमाध्यमहरूसँग कुरा गरे
इजरेली राष्ट्रपतिको कार्यालयले इजरेल सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पलाई देशको सबैभन्दा ठूलो नागरिक पदकबाट विभूषित गर्ने घोषणा गरेको छ।

हमासले बन्धक बनाएका ४८ जनाको मुक्तिका लागि ट्रम्पले निर्वाह गरेको भूमिकाका लागि उनलाई सम्मानित गर्न लागिएको हो। इजरेली राष्ट्रपति आइज्याक हर्सोगले संसद्‌मा हुने भेटमा ट्रम्पलाई त्यसबारे औपचारिक जानकारी दिने छन्।

यद्यपि उक्त पदक अहिले नभई पछि दिइने छ।

इजरेल जानुअघि ट्रम्पले नेतन्याहूसँग आफ्नो ‘निकै राम्रो’ सम्बन्ध भएको बताए। नेतन्याहूलाई ‘युद्धकालीन राष्ट्रपति’को सङ्ज्ञा दिँदै ट्रम्पले भने, ‘उनले निकै राम्रो काम गरे। उनीसँग मेरो केही मतभेद पनि रह्यो तर त्यो चाँडै सुल्झियो।’

इजरेलबाट उनी इजिप्ट प्रस्थान गर्ने छन्। त्यहाँ उनले मध्यपूर्वमा शान्ति स्थापना गर्नेसम्बन्धी शिखर सम्मेलन आयोजना गर्ने छन्।

उक्त सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरसहितका विश्वनेताहरू सहभागी हुने छन्।

सोमबार, २७ असोज २०८२, १३ : ३९

प्रतिक्रिया